दमक/कोरोना संक्रमणबाट समुदायलाई जोगाउन बालबालिकालाई पहिलो प्राथमिकतामा राखेर सरकारले १४ वैशाखदेखि सम्पूर्ण शिक्षण संस्था र सबै खाले परीक्षाहरु स्थगित गरेको भएपनि झापाको गौरीगञ्ज बजार क्षेत्रका बोर्डिङ स्कूलहरु भने निरन्तर खुलेका छन ।
यहाँ सञ्चालित निजी बिद्यालय ( बोर्डिङ स्कूल) सरकारको अवज्ञा गर्दै खुलेका समाचार स्रोतको दाबी छ । कतिपय जनप्रतिनिधिहरुले नै बोर्डिङ स्कूल सञ्चालन गरिरहेका कारण संघीय सरकारले गरेको निर्देशनको अवज्ञा गर्दै बिद्यालय खोलिएका हुन । ति बोर्डिङ स्कूलले बालबालिकालाई परीक्षा दिनका लागि बिद्यालय पोशाक नलगाई , झोलामा परीक्षा सामाग्री बोकेर सुटुक्क स्कूल आउनु भन्ने सर्कुलर गरेका बताइएको छ ।
गौरीगञ्ज गाउँपालिकाले भने आज ( बिहिबार) सबै बिद्यालयको नाममा पठाइएको पत्रमा सबै बिद्यालय, कलेज तथा शिक्षण संस्थामा भौतिक उपस्थितिसहित सञ्चालन गरिने कक्षा तथा परीक्षाहरु अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको उल्लेख छ । उपाध्यक्ष तथा गाउँपालिकाका शिक्षा समिति संयोजक दिपिन्द्र थापाले हस्ताक्षर गरि जारी गरेको पत्र सामाजिक सञ्जालमार्फत आज दिउँसो बाहिर आएको हो ।