दमक/ दमक ३ मा मदन भण्डारी अन्तराष्ट्रिय रंगशाला निर्माणका लागि सरकारले प्रकृया अघि बढाएको छ । दमक ३ स्थित हम्सेदुम्से वन क्षेत्रको आंशिक खण्डमा पाँच बर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी सो टेण्डर आव्हान गरेको हो । नेपाल खेलकुद परिषदले रंगशाला निर्माणको लागि टेण्डर प्रकाशन गरेको जनाइएको छ । सरकारले रंगशाला निर्माणका लागि बजेट सुनिश्चित गरेको र बहुबर्षिय योजना अन्र्तगत यहि बर्षदेखि निर्माण शुरु गरिने रंगशाला निर्माणस्थल दमक ३ का वडाध्यक्ष नबिन बरालले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा अघि बढाइएको सो योजनाका लागि प्रधानमन्त्री ओलीका प्रमुख स्वकिय सचिव इन्द्र भण्डारीको विशेष पहल रहेको बताइएको छ ।
यसको विस्तृत परियोजना ( डीपिआर) अनुसार ५ अर्बन्दा बढि लगानी रहनेछ । नेपाल सरकारले दमकमा मदन भण्डारी रंगशाला निर्माण गर्न २७ हेक्टर राष्ट्रिय वन क्षेत्र मदन भण्डारी रंगशाला निर्माण आयोजनालाई दिने निर्णय यस अघि गरिसकेको छ । मन्त्रिपरिषद्को १९ र २६ माघमा बसेको बैठक बन क्षेत्र प्रयोग गर्न दिने र १ हजार ९ सय २४ वटा रुखविरुवा हटाउन स्वीकृति दिने निर्णय गरेपछि रंगशालाको काम अघि बढेको हो ।
रंगशाला निर्माणको योजनामा विशेष भुमिका निर्वाह गरेका प्रम ओलीका प्रमुख स्वकिय सचिव तथा नेकपा एमाले १ नम्बर प्रदेश कमिटी सदस्य भण्डारीले सो रंगशाला प्रदेश एककै लागि गौरबको योजनाका रुपमा आफूले लिएको बताएका छन ।