दमक/ सरकारले कोरोना संक्रमितहरुको उपचारमा संलग्न सबै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई अतिरिक्त सेवा सुविधा दिने व्यवस्था गर्न स्वास्थ्य क्षेत्रबाट माग उठेको छ । झापाको दमकस्थित आम्दा अस्पतालका मेसु डा. प्रकाश शर्माले आफू जोखिम मोलेर अरुलाई सेवा दिनुपर्ने स्वास्थ्य सेवा प्रदान गर्ने काम अहिले कोरोनाको महामारीमा निक्कै जटिल बिषय भएको बताउँदै सामुदायिक तथा निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई राज्यले सेवा सुविधा दिएर पनि उपचार सेवामा प्रेरित गर्नुपर्ने अवस्था आएको बताए ।
आज दमक नगरपालिकामा आयोजित एक अन्तरक्रियात्मक कार्यक्रममा डा. शर्माले अघिल्लो पटक कोरोना संक्रमणको उपचारमा योगदान गरेका सामुदायिक तथा निजी अस्पतालहरु तथा ति अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुका बिषयमा राज्यपक्षबाट सन्तोषजनक व्यवहार हुन नसकेको गुनासो गर्दै दमकबाहिरका अन्य अस्पतालले लाखौं रुपैयाँ उपचार सेवाका नाममा बिरामीबाट असुल गरेपनि सामुदायिक अस्पतालले न्यून खर्चमा सेवा गरेको स्मरण गराए ।


उनले संक्रमितको वास्तविक तथ्याङक लिएर उपचारको योजना बनाउन पीसिआर परिक्षणको दायरा बढाउन एकदमै जरुरी भएको बताए । डा. शर्माले भने– पीसिआर परिक्षणलाई नबढाएसम्म यहाँको अवस्था बारे जानकारी नै हुँदैन । कति के मात्रामा बिरामी आउँछन र के के पूर्वतयारी गर्नुपर्ने भन्ने योजनानै बनाउन सकिँदैन । उनले संक्रमितहरुको पहिचान गरेर संख्या यकिन हुने वातावरण नबनाई कुन रुपमा सरकार लाग्नु पर्ने भन्ने बिषय थाहा नहुने भएकाले पनि दायरा बढाउनुको विकल्प नभएको स्पष्ट पारे ।

 

Facebook Comments Box