दमक/ कोरोना संक्रमण फैलिन नदिन अघिल्लो बर्ष गरिएको लकडाउनको अभ्यास झापाको दमकमा तत्काल नगरिने भएको छ ।
दोश्रो चरणमा कोरोना भेरियन्ट सक्रिय भइरहेको बेला दमकमा आज ( मंगलबार) बसेको नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका सन्दर्भमा संघीय सरकार र जिल्लास्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको निर्णयलाई अक्षरस कार्यान्वयन गर्ने गराउने निर्णय लिएको हो । संघीय सरकारले तराईका जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० र पहाडी जिल्लामा २०० नाघेको अवस्थामा भने सम्बन्धित स्थानीय प्रशासनले निषेधाज्ञा लगाउन सक्ने निर्णय यस अघि गरिसकेको छ । तर झापामा सक्रिय संक्रमित हुने क्रम भर्खरै शुरु भएका कारण तत्कालै यहाँ निषेधाज्ञा वा लकडाउनको सम्भावना नरहेको हो ।

नगरस्तरीय समितिले आज आयोजना गरेको यस सम्बन्धिको समन्वयात्मक बैठकमा इलाका प्रशासन कार्यालय दमकका प्रमुख दिपक कोइरालाले हिजो ( सोमबार) जिल्लास्तरीय समन्वय समितिले गरेका महत्वपूर्ण निर्णयहरुको सार संक्षेप प्रस्तुत गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड उल्लघंन गर्ने जोकोही माथि कारवाही हुने बताए ।
उनले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लास्तरीय र सबैपालिकाहरुमा सम्बन्धित पालिकाका प्रमुख प्रशासकिय अधिकृतको संयोजकत्वमा पालिकास्तरीय अनुगमन समिति तोकिएको पनि स्मरण गराए ।
समितिले स्वास्थ्य सुरक्षा मापदण्ड उल्लघंन गर्नेमाथि संक्रमण रोग नियन्त्रण सम्बन्धिको ऐेन अनुसार कारवाही हुने प्रष्ट पारे ।
दमक नगरपालिका प्रमुख तथा नगर स्तरीय समितिका संयोजक रोमनाथ ओलीले संघीय सरकारबाट भएका निर्णयहरुको कार्यान्वयननै स्थानीय सरकारको प्राथमिकता हुने बताउँदै बेलुकी ८ बजेपछि होटल तथा अन्य व्यवसायहरु पूर्ण रुपमा बन्द गराइने जानकारी दिए । उनले नगरस्तरमा प्रमुख प्रशासकिय अधिकृतको संयोजकत्वमा रहेको अनुगमन समितिले स्वास्थ्य सुरक्षाका मादपण्ड पालन भए नभएको बारे स्थलगत अनुगमन गरी जानकारी लिने र स्पटमै कारवाही गरिने उल्लेख गरे ।
कोभिड उपचार केन्द्रलाई व्यवस्थित गरिँदै
समन्वायत्मक छलफलमा नगरपालिकाकी उपप्रमुख तथा कोभिड उपचार केन्द्र व्यवस्थापन संयोजक गीता अधिकारीले बेलडाँगीमा रहेको कोभिड अस्पताललाई थप व्यवस्थित गरेर सञ्चालनमा ल्याइने जानकारी दिइन । उनले सो अस्पतालसंगै नगरमा रहेका अन्य निजी अस्पताललाई समेत अनिवार्य रुपमा कम्तीमा ३ देखि ५ ओटा सम्म संक्रमितको उपचारका लागि आइसोलेसन बेड सञ्चालनमा ल्याउन निर्देशन गरिएको बताइन । उनले अस्पतालमा आवश्यक अक्सिजनदेखि संक्रमितको मृत्यु भएको अवस्थामा शव व्यवस्थापनका लागि समेत आवश्यक तयारी गरिएको बताइन । अस्पतालमा चाहिने ग्लोब, सेनिटाइजर, अक्सिजन लगायतका आधारभुत सामाग्रीको पूर्व तयारी गर्दै कोभिड अस्पताललाई थप व्यवस्थित बनाउन दमक अस्पतालका मेडिकल सुपरिटेण्डेण्डको संयोजकत्वमा छुट्टै कार्यदलनै गठन गरेर सुझाव लिने काम शुरु भएको छ– उपप्रमुख अधिकारीले भनिन ।


छलफलमा इलाका प्रहरी कार्यालय दमकका डिएसपी नवराज कार्कीले विभागीय निर्देशन अनुसार प्रहरी आफैंले सार्वजनिक यातायात तथा बढी भिडभाड हुने क्षेत्रमा आवश्यक अनुगमन गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउन सक्रिय रहेको बताए । उनले प्रहरी निरिक्षक दिवस कुँवरको संयोजकत्वमा चार सदस्यीय प्रहरी टोलीले दमकमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि विशेष काम गरिरहेको जानकारी गराए ।
सो अवसरमा नेपाली कांग्रेसका महासमिति सदस्य शेरबहादुर भट्टराईले कोरोना रोकथाम तथा नियन्त्रणका लागि अन्य शिर्षकको बजेट कटौती गरेर र निजी क्षेत्रसंगको समन्वयमा आर्थिक व्यवस्थापन गर्न सकिने सुझाव राखे ।
दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले स्वास्थ्य सुरक्षाका मापदण्ड पालनाका लागि व्यवसायी र उपभोक्ताहरुलाई सजग गराउन जनचेतना जगाउने प्रयास स्वरुप आज ( मंगलबार) देखिनै बढी भिडभाड हुने क्षेत्रमा मास्क वितरण गर्न शुरु गरिएको बताए । संघका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाइँका अनुसार संघले आज पहिलो दिन तरकारी बजारमा व्यवसायी र ग्राहकहरुलाई १ हजार ५ सय थान मास्क वितरण गरेर जनचेतना बढाइएको छ ।


छलफलमा नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकका सभापति प्रकाश बुढाथोकीले लकडाउन गरेरै भएपनि कोरोना संक्रमितको व्यवस्थापन र उपचारका लागि चाहिने तयारी गर्न स्थानीय सरकारलाई सुझाव दिए । उनले संक्रमितहरुमाथि निगरानी बढाएर अनिवार्य आइसोलेसन बस्ने व्यवस्था मिलाउन माग गरे ।
परिक्षणको दायरा बढाउन डा. शर्माको सुझाव
सो छलफलमा आम्दा अस्पताल दमकका मेसु डा. प्रकाश शर्माले संक्रमितको संख्याका आधारमा लकडाउन गरिने सरकारको तयारी भइरहँदा संक्रमितको पहिचान गर्ने मुख्य आधार पीसिआर परिक्षणका बिषयमा भने मौन रहनु बेमेल भएको प्रतिक्रिया दिए । उनले पीसिआर परिक्षण समुदायस्तरमा बढाउन सरकारलाई सुझाव दिए ।

Facebook Comments Box