दमक/ पछिल्लो समय कोरोनाको दोश्रो लहरबाट जनजिवन प्रभावित हुन थालेपछि सरकारले गठन गरेको नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठक बोलाइएको छ । समन्वय समितिका सचिव कुबेर भट्टराईले नगर प्रमुखको अध्यक्षतामा रहेको समितिको सर्वपक्षीय बैठक भोली ( मंगलबार) दिउँसो ३ बजेका लागि बोलाइएको जानकारी दिए ।
व्यवसायीहरु चिन्तित
स्वैच्छिक रुपमा आफनै खर्चमा कोरोना परिक्षण गराईरहेका सर्वसाधारणहरुमा धमाधम कोरोना देखिन थालेपछि यहाँका सर्वसाधारण चिन्तित हुन थालेका हुन । हिजो आज दमकमा दिनहुँ ३/४ जनामा कोरोना संक्रमण देखिन थालेको छ ।
पछिल्लो समय विराटनगरका सुविधा सम्पन्न अस्पतालमा उपचारका लागि विरामी भर्ना लिन नमानेको र लाखौं रुपैयाँ अग्रीम जम्मा गर्नुपर्ने भएकाले सर्वसाधारणले उपचार सेवा पाउन नसक्ने अवस्था आएको भन्दै दमकमा रहेको कोभिड अस्पताललाई थप व्यवस्थित बनाउँदै पूर्ण रुपमा सञ्चालनमा ल्याउनु पर्ने पनि व्यवसायीहरुको माग छ ।
दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले लामो समय कोरोनाका कारण थलिएका व्यवसायीहरु कोरोनाको दोश्रो लहरबाट प्रभावित हुन थालेकाले सर्वसाधारणलाई सहज निशुल्क रुपमा उपचार सेवा प्रदान गर्न सरकारसंग माग गरे ।
कोरोना संक्रमितहरुको उपचारका लागि दमकमा यस अघि स्थापना गरिएको कोभिड अस्पताल संक्रमितहरु आउन छोडेपछि बन्द थियो । तर समुदायमा संक्रमणको दर बढेकाले सो अस्पताल सञ्चालनका लागि पुनः तयारी अवस्थामा राखिएको दमक नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समिति सचिव भट्टराईले बताए ।
उनले भने– संक्रमितहरु नआएको अवस्थामा यस अघि बन्द जस्तो देखिएको मात्रै हो अहिले संक्रमण फैलिएपछि हामी बिरामी भर्ना लिएर उपचारको व्यवस्था गर्न सक्ने तयारीमा छौं ।
परिक्षण निजी खर्चमा मात्रै
हाल दमकबासीले आफनो निजी खर्चमा मात्रै कोरोना परिक्षण सेवा लिन पाइरहेका छन । मेची अस्पताल भद्रपुरमा ओपिडी टिकट लिएर गएका शंकास्पद विरामीको भने चिकित्सकहरुले गरेको सिफारिसका आधारमा कोरोना परिक्षण निशुल्क हुने गर्छ । तर सर्वसाधारणले आफनो इच्छा अनुसार पीसिआर परिक्षण गराउन चाहेको खण्डमा भने सरकारी मापदण्ड पूरा गरेर सञ्चालनमा रहेका निजी प्रयोगशालाहरुमा शुल्क तिरेर भने परिक्षण गराउन सक्ने व्यवस्था छ ।

Facebook Comments Box