दमक/ मृतकका नाममा किर्ते नागरिकता बनाएर अर्काको जग्गा हडप्ने धन्दामा झापामा एक जना वडाध्यक्षसहित १६ जना संलग्न रहेको घटना बाहिर आएको छ । झापा बिर्तामोडका स्व. टुंग बहादुर बस्नेतको नाममा रहेको जग्गा ठगी गर्ने उद्धेश्यले नक्कली टुंग बहादुर बस्नेत खडा गरेर उनको नाममा रहेको जग्गा ठगी गर्ने गिरोहका उनीहरु मध्ये १० जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।

 


पक्राउ पर्नेमा झापा बाह्रदशी ३ का ३९ बर्षीय मंगल सिंह राजवंशी, झापा भद्रपुर ७ का ५२ बर्षीय नवीन कोइराला, झापा बाह्रदशी ५ का ५० बर्षीय लिलाधर राजवंशी, झापा गौरीगंज १ का ३७ बर्षीय बलराम बिश्वकर्मा, झापा शिबसताक्षी ८ का ४२ बर्षीय भुपदेव कटुवाल रहेका छन् भने यसै गरी झापा अर्जुनधारा ५ का ५३ बर्षीय लेखनाथ खनाल, झापा बिर्तामोड ४ का ३४ बर्षीय गोविन्द वान्तवा, बिर्तामोड १० का ७१ बर्षीय देवी प्रसाद पाण्डे, बिर्तामोड ४ की ३३ बर्षीया रञ्जु राई र मोरङ उर्लाबारी ४ का ४८ बर्षीय राजन विश्वकर्मा रहेका छन् ।
यो समुहले झापा बिर्तामोड १ स्थित अदुवा पुलबाट १०० मिटर पश्चिममा पुर्व–पश्चिम राजमार्गमा जोडिएको स्वर्गिय टुंग बहादुर बस्नेतको नाममा रहेको कित्ता नम्बर ४१८३ को १ कठ्ठा १३.७५ धुर क्षेत्रफलको जग्गा ठगी गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यो समुहले सो जग्गा ठगी गर्नको लागी पक्राउ परेका मध्ये देवी प्रसाद पाण्डेलाई नक्कली टुंग बहादुर बस्नेत खडा गरी नक्कली नागरिकता समेत बनाई मिति २०७७ साल असोज २८ गते काठमाण्डौ जिल्ला अदालतबाट झापा बाह्रदशी ३ घर भई हाल बिर्तामोड २ चैतुवारी बस्ने मंगलसिंह राजवंशीको नाममा अधिकृत वारेशनामा बनाएर वारेशनामा मार्फत झापा बिर्तामोड ४ की रञ्जु राईको नाममा मिति २०७७ साल माघ २१ गते राजिनामा पास गरेको थियो ।
सो घटनाको बारेमा ईलाका प्रहरी कार्यालय अनारमनीमा जाहेरी परेसगै १ नं प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समूह,जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले घटनाको पर्दाफास गर्दै घटनामा संलग्न रहेका मध्ये १० जनालाई पक्राउ गरि सार्बजनिक गर्न सफल भएको हो । पक्राउ परेकाहरुमाथि ठगी, सरकारी छाप दस्तखत किर्ते, आपराधिक लाभ तथा संगठित अपराध मुद्दामा झापा जिल्ला अदालतबाट म्याद थप भइ अनुसन्धान भईरहेको प्रहरी कार्यालयले जनाएको छ ।
ठगी धन्दामा अन्य सम्बन्धित निकायका प्रतिनिधीहरुको समेतको संलग्नता तथा पहिचान भएको र उनीहरु फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आरोपित वडाध्यक्ष खरेल फरार
सो प्रकरणमा मुछिएका गौरादह ७ का वडाध्यक्ष बलराम खरेल समेत प्रहरीको फरार सुचिमा छन् ।तर खरेल सरकारी संरक्षणमा काठमाडौंमा लुकिछिपी बसेका छन । उनी नेकपा एमलेको तर्फबाट उम्मेदवार भएर वडाध्यक्षमा निर्वाचित भएका थिए । सत्ताधारी पार्टीको जिल्लास्तरीय नेता उनलाई सरकारको संरक्षण रहेको दाबी समाचार स्रोतले गरेको छ ।
खरेलमाथि सो प्रकरणका नाइके तथा नेकपा एमाले सम्बद्ध नेपाल उत्पीडित जातीय मुक्ति समाज झापाका नेता सुशील भनिने बलराम बराइलीसंग मिलेर सरकारी कागजात किर्ते गरेको अभियोग लागेको छ ।


खरेलले मालपोत कार्यालयबाट जग्गा पास गर्नका लागि आवश्यक हुने घरबाटो सिफारिस, तिरो तिरेको रसिद बनाइएको आरोप प्रहरीले लगाएको छ ।
यस्तै किर्ते कागजात तयार गर्न सरसहयोग गरेको, अधिकृत वारेसनामा गर्ने कार्यको लागि अन्य प्रतिवादीहरुसंगै काठमाडांै जिल्ला अदालतसम्म गई समन्वयात्मक भूमिका खेलेको तथा अन्य प्रतिवादीहरुलाई भाग्न भगाउने काममा समेत संलग्न भएको दाबी प्रहरीको छ । यस्तै,मालपोत भद्रपुरका अधिकृत चेतन अधिकारी, मालपोतका तत्कालीन नासु हरी तिवारी, ओखलढुङ्गा चिशंखुगडी –७ का बेग प्रसाद कोइराला, खोटाङ हलेसी तुवाचुङग–११ का देव बहादुर विष्ट र भद्रपुर–७ का ५३ वर्षीय प्रकाश कार्कीमाथि पनि जग्गासम्बन्धी अवैध कारोबारमा सहयोग गरेको अभियोग छ । सो गिरोहले नक्कली टुंग बहादुर बस्नेत खडा गरी मृत्यु भइसकेका टुंग बहादुर बस्नेतको नागरिकतामा भएको विवरण समावेश भएको नक्कली नागरिकता बनाई २०७७/०६/२८ गते काठमाण्डौं जिल्ला अदालतबाट जिल्ला झापा बाह्रदशी गाउँपालिका वडा नं.३ घर भई हाल बिर्तामोड नगरपालिका–२ चैतुवारी बस्ने मंगलसिंह राजवंशीको नाममा अधिकृत वारेशनामा बनाएको र बिर्तामोडकी रञ्जु राईको नाममा राजिनामा पास गरेका थिए ।

झापा प्रहरीका अनुसार सो जग्गा विक्रीसम्बन्धी किर्ते कागजात बनाएर विक्री गर्ने मुख्य नाइके गौरीगञ्ज–१ कुन्जिबारीका बलराम विश्वकर्मा (सुशील) हुन् ।
बराइलीले आफू सत्ताधारी दलको हेड क्वार्टरदेखि सर्वोच्च अदालत सम्म सेटिङ गर्न सक्ने भन्दै विभिन्न मुद्धाका आरोपितहरु छुटाउने, सर्वसाधारणलाई झुक्याएर र धम्क्याउँदै आएका थिए ।

Facebook Comments Box