दमक/झापाको दमकमा उपभोक्ताहरुको समेत करोडौं लागतमा कालोपत्रे गरिएका धेरै सडकहरु यतिबेला धुलाम्ये भइरहेका छन । आफनै लागत सहभागितामा कालोपत्रे गरिएको आफनै घर अगाडीको बाटो कुन योजनाका कारण भत्काइएको हो ? भन्ने उपभोक्ताहरुलाई स्पष्ट र आधिकारिक जानकारी समेत छैन ।
दमकको यलम्बर चोक–मंगलदीप मार्केट सम्मको करिब एक किलोमिटर लामो सडकको किनारमा ढलको चेम्बर बनाउने भन्दै हेभी इक्युपमेन्टको प्रयोग गरेर सडक किनारमा खन्ने क्रममा सडकको मध्य भाग सम्म भत्किएको छ । ढल बनाउने भनेको सुन्छु, कसले कति बजेटमा कस्तो ढल बनाउने हो ? हामी उपभोक्तालाई जानकारी छैन, हामीले बनाएको बाटो भत्काएर हेर्न नहुने बनाएको छ– सो सडकका उपभोक्ता मदन ढकालले निष्कर्ष न्यूजसंग भने । उनले सो योजनाका बारेमा प्रत्यक्ष सरोकार राख्ने उपभोक्तालाई सार्वजनिक रुपमा जानकारी हुने गरि सूचनामुलक बोर्ड समेत नराखिएका कारण उपभोक्ताहरु अन्यौलमा परेको बताए । उनले भने – हामीले दुख गरेर बनाएको पिच सडक जताततै भत्काइएको छ , योजनाका बारेमा कुनै थाहा पाउने हाम्रो अधिकार पनि सुरक्षित गरिएन यो त कस्तो गणतन्त्र हो कस्ता कम्पनीले कुन निकायबाट काम गरिरहेका छन ? सो सडकका अर्का उपभोक्ता थरेन पौडेलले आफनै घर अगाडीको , आफैंले घर घरबाट पैसा संकलन गरेर बनाइएको कालोपत्रे बाटोमा जताततै माटो थुपरिएको, दिनभर धुलो उडनाले समस्या भएको बताए । उनले भने – कालोपत्रे बाटो हेर्दा हेर्दै धुलाम्ये बनाइयो, यो विकासका नाममा सरासर वेथिती हो ।

दमक नगरपालिकाका इञ्जिनियर अनन्त सेनिहाङ सो योजनाका बारेमा संघिय सरकारको खानेपानी तथा ढल निकास विभागबाट टेण्डर प्रकृया भइ दमकमा ढलको चेम्बर निर्माण काम भइरहेको बताउँछन । उनले यलम्बर चोक–मंगलदी मार्केट अन्तर्गतको सो सडकसहित अन्य राम्रा र गुणस्तरीय सडकहरुको पनि अवस्था उस्तै रहेको बताए । समाचार स्रोतका अनुसार देशका अन्य धेरै ठाउँमा सफल हुन नसकेको सो योजना दमकमा जवरजस्त कार्यान्वयन गर्ने प्रयास हुँदा दमकका सर्वसाधारणले आफनो ठाउँको बिकासका लागि खर्चिएको करोडौंका सडक संरचना कुरुप बन्दै गएका हुन ।
उपभोक्ता समितिका नाममा कमिसनको खेल
उता झापाको गौरीगञ्ज गाउँपालिकामा गाउँपालिका आफैंले बनाएको नियम मिच्दै लाखौंका योजनाहरु सम्पन्न गर्न भन्दै उपभोक्ता समिति गठन गर्ने गरिएको पाइएको छ । नाम मात्रका यस्ता उपभोक्ता समितिमा पूर्वाधार निर्माण सम्बन्धिको न्यूनतम ज्ञान तथा जानकारी नभएका उपभोक्ता हुने गरेका छन । वडा तथा गाउँपालिकाले सञ्चालन गर्ने स्थानीय , प्रदेश र संघीय सरकारका कतिपय योजना तथा कार्यक्रमहरुमा बैधानिक रुपमा नै भ्रष्टाचार हुने गरेको पाइन्छ । समितिमा बसेर योजनाहरु निर्माण व्यवसायीलाई ठेक्का दिने र व्यवसायीबाट उपभोक्ता समितिका नाममा हरेक योजनामा कमिसन वापत रकम लिएर भ्रष्टाचार गर्ने गौरीगञ्ज गाउँपालिका भित्र मौलाएको वेथिती हो ।
त्यस्ता योजनाको कमिसनमा गाउँपालिका तथा वडा तहका जनप्रतिनिधीहरु समेत सहभागी हुने गरेका छन । योजनाको लागत स्टिमेट तयार पार्ने प्राविधिकसंगको मिलेमतोमा हरेक योजनाका अनुगमनमा आउने जनप्रतिनिधिहरुदेखि उपभोक्ता समितिका पदाधिकारीहरु बैधानिक रुपमा नै भ्रष्टाचारमा संलग्न हुने गरेका छन । त्यस्ता उदाहरण निष्कर्ष न्यूजले सुरक्षित राखेको छ । नाम मात्रका उपभोक्ता समिति गठन गरेर जनप्रतिनिधि, प्राविधिक र स्थानीय ठेकेदारको मिलेमतोमा बैधानिक भ्रष्टाचार हुने गरेको हो ।
४० लाख रुपैयाँको बजेटमा गौरीगञ्जमा निर्माण हुन लागेको वडा नं ३ को कार्यालय भवन निर्माण को उपभोक्ता समिति अबैधानिक हो । गौरीगञ्ज गाउँपालिकाले राजपत्रमा प्रकाशित गरेको “उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि बिपरित सो समिति बनाइएको पाईएको छ । गाउँपालिकाले २०७५ साल माघ २० गतेदेखि जारी गरेको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि को परिच्छेद २ को दफा ४ (छ) मा “एक ब्यक्ती, एक भन्दा बढि उपभोक्ता समितिको सदस्य हुन पाउने छैन ” लेखिएको छ तर यस भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष सिताराम खड्का एक भन्दा बढि उपभोक्ता समितिमा पदाधिकारी रहेको पाईएको छ । उनी वडा नँ ३ ठेकिटोलमा निर्माण भइरहेको स्वास्थ्य चौकी जाने सडक निर्माण उपभोक्ता समितिको पनि सचिव हुन । सो उपभोक्ता समिति मार्फत भएको यो सडक योजना फरफारक नभएकै अवस्थामा उनी वडा कार्यालय भवन निर्माण उपभोक्ता समितिमा पनि रहेको पाइएको हो । सो कार्यविधि को दफा ५ मा उपभोक्ता समिति का सदस्य को योग्यता को उपधारा (ङ) मा उपभोक्ता समिति को सदस्य हुन अन्य उपभोक्ता समिति को सदस्य नरहेको हुनुपर्ने व्यवस्था छ । चैत १९ गते गठन भएको वडा कार्यालय भवन निर्माण उपभोक्ता समिति र माघ १५ गते गठन भएको ठेकिटोल स्वास्थ्य चौकी जाने सडक निर्माण उपभोक्ता समिति गठन हुदा दुबै समिति वडाध्यक्ष मखना महतो को रोहबरमा गठन गरिएको पाईएको छ । सो समिति समावेशी नरहेको पनि पाइन्छ ।