घण्टा, दिन, हप्ता र महिना हुँदै वर्ष वित्छ । यो नियमित र स्वभाविक प्रकृया हो । यस्तै स्वभाविक प्रकृया, विक्रम सम्वत्को नयाँ वर्ष २०७८ शुरु हुँदैछ । नयाँ वर्ष शुरु हुँदै गर्दा वितेको वर्षको समिक्षा गर्ने, त्यसबाट पाठ सिक्ने तथा आउने वर्षलाई थप सुदृढ बनाउन प्रण गर्ने चलन पनि छ ।
वितेको वर्षलाई नेपाली राजनीतिको दृष्टिकोणबाट हेर्ने हो भने विवाद, बहस, आरोप अनि आक्रोशको वर्षको रुपमा रहयो । खासगरि तत्कालिन नेकपा भित्रको कलह झाङ्गिएर राष्ट्रिय समस्याको विषय बन्यो र त्यो संसद विघटनको घोषणा सम्म पुग्यो । दुई ठुला कम्युनिष्ट पार्टी एकता भएर बनेको नेकपा यहि प्रकरणले पुरानै अवस्थामा फर्किएको छ । अर्थात, विघटन भएको छ । बहुदलिय व्यवस्थामा शक्ति सन्तुलन र राष्ट्रिय मुद्धामा बहस गर्ने थलो संसदबाट प्रशंशा भन्दा आलोचना बढि आउन थाले पछि प्रधानमन्त्री केपी शर्मा ओलीले आलोचनाको मुहाननै बन्द गर्ने लक्ष्य सहित प्रतिनिधीसभा विघटन गरेका थिए । तर यो असंवैधानिक र अलोकतान्त्रिक कदमलाई अदालतले रोकि दिए पछि पुनः विवाद पार्टीको नामका विषयमा हुन पुग्यो । निर्वाचन आयोगले नामको विषय मात्र टुङ्गो लगाई दिए पुग्नेमा एकता भएको पार्टीनै विघटन गराई दिए पछि नेकपा दुई चिरा मात्र भएन, साविक एमाले समेत दुई चिरा हुन पुगेको छ ।
प्रधानमन्त्रीको कदमबाट लोकतन्त्रमाथिनै प्रहार भयो भनेर बहस भई रहँदा आफुलाई लोकतन्त्रको जजनी भनेर कहिल्यै नथाक्ने नेपाली कांग्रेसको भुमिका पनि सत्ताको ढुुकुवा भन्दा माथि उठ्न सकेको छैन । अझ त्यसमा पनि आवधिक महाधिवेशन समेत धकेल्दै गएको पार्टी नेतृत्व माथि पार्टी भित्रकै आलोचनात्मक धार बलियो हुँदा कांग्रेस सरकार सम्हाल्ने विषयमा मात्र होईन संसद र सडकमा समेत भुत्ते सावित भयो । यस्तै पहिचानवादीको मूलपार्टी दावि गर्ने जसपामा पनि नेकपाको कलह, पार्टी विभाजन, सरकारमाथि परेको दवाव अनि सत्ता र प्रतिपक्षबाट नयाँ सरकारका लागि आई रहेको निम्तो सम्हाल्न नसक्दा भुषको आगो सल्किन थालि सकेको छ ।
यस्तै संसद विघटन, अदालतबाट पुनस्र्थापना, नेकपा विघटन, एमाले विभाजन जस्ता परिघटनाका कारण २०७७ मा प्रदेश सरकारहरुको जग पनि नराम्रोसँग हल्लिन पुग्यो । यस्तै सत्ताको लोभ र स्वार्थका कारण साविक माओवादी केन्द्र र एमालेका सांसदहरुको आउ–जाउले अझै राजनीतिक दलहरुमा स्थिरता कायम भई सकेको छैन ।
समग्रतामा २०७७ साल नेपाली राजनीतिमा अस्थिर वर्षको रुपमा दर्ज भयो । तर नयाँ संविधान जारी पछि भर्खर भर्खर स्थिरताको अभ्यास शुरु गरेको नेपालमा यस प्रकारका परिघट्नाले पटक्कै शुभसंकेत गरेको छैन । त्यसैले नेपाली राजनीतिज्ञहरुले मात्र होईन, नेपाली जनताले पनि वितेको वर्षबाट पाठ सिक्दै आउने वर्षलाई सफल, स्थिर र सुदृढ नेपालको जग बसाल्ने वर्षको रुपमा कायम गर्न विवेक प्रयोग गर्ने पर्ने अवस्था आएको छ ।
अन्त्यमा, २०७८ साल सम्पूर्ण नेपालीहरुका लागि सफल, सुदृढ र स्थिरताको वर्ष बन्न सकोस् । सवैलाई हार्दिक मंगलमय शुभकामना । ( निष्कर्ष न्यूज नयाँ बर्ष २०७८ विशेषांक सम्पादकीय)