दमक/झापाको शिवसताक्षी नगरपालिका वडा नं ६ ले वडा भित्र बसोबास गर्ने अति विपन्न परिवारको निशुल्क स्वास्थ्य बीमा गरिदिने निर्णय गरेको छ । वडाध्यक्ष मनोज खुलाल ( कार्की) का अनुसार वडा भित्र बसोबास गर्ने आर्थिक रुपमा विपन्न बर्गको स्वास्थ्योपचारका लागि आवश्यक स्वास्थ्य बीमा गर्न लाग्ने खर्च वडाले ब्यहोर्ने निर्णय भएको हो ।
पाँ जना सदस्य भएको परिवारका लागि स्वास्थ्य बीमा गर्न आवश्यक पर्ने प्रति परिवार ३,००० रुपैयाँ वडाको आर्थिक बर्ष २०७७/०७८ को बजेटबाट उपलब्ध गराइने र सो भन्दा बढी संख्या भएको परिवारका लागि लाग्ने ५०० रुपैयाँ सम्बन्धित परिवारले आफैं ब्यहोर्नुपर्ने वडा कार्यालयले सूचना मार्फत जनाएको छ । अति विपन्न त्यस्ता परिवारले वडा कार्यालयमा स्वास्थ्य बीमाका लागि १५ दिन भित्र आवेदन दिनुपर्ने जनाइएको छ । नागरिकता वा जन्मदर्ता तथा अन्यत्रबाट जारी भएको नागरिकता भए बसाइँसराइँ दर्ताको प्रमाणसहित आवेदन गर्न पनि वडा कार्यालयले सूचित गरेको छ ।
