दमक/ दमक र आसपासका क्षेत्रमा दिनदहाडै चोरीका घटना बढेका छन । बजार नजिकैका गाउँमा समेत घरमा कोही नभएको मौका पारेर धनमाल चोरी हुने गरेको घटना बढेका हुन । चोरले दमकको ब्यस्त बजार भित्र रहेको एउटा मन्दिरमा समेत दुई दिन लगातार चोरी गरेर सामान लगेको छ ।
दमक ६ स्थित पुरानो सब्जी बजार नजिकै जनस्तरबाट हालै निर्माण गरिएको शनि मन्दिरबाट शुक्रबार र शनिबार राती लगातार सामान चोरी भएको मन्दिर सञ्चालक समितिका सदस्य माधव ढकालले बताए ।


दमकका वडा नं ५, ६ , ७, ८ र ९ नम्बर वडाका विभिन्न टोल बस्तीमा रातको समयमा होहल्ला गर्ने र घर तथा पसलहरुबाट सामान चोरी हुने श्रृखंला रोकिन सकेको छैन । साता अघि दमक ६ मै एक महिलाको साथबाट दिनदहाडै नगद लुटिएको थियो । त्यस लगत्तै दमकसंगै जोडिएको कमल गाउँपालिका वडा नं ५ मंगलबारे बजारमा अर्की एक महिलाको साथबाट सुनको सिक्री लुटिएको थियो ।
चोरी र लुटपाटका घटना बढेपनि प्रहरीको रात्रीकालिन गस्ती प्रभावकारी रुपमा हुन सकेको छैन । होटल तथा रेष्टुरेँन्टहरुमा मध्यरात सम्म चर्को ध्वनी प्रदुषणसहित भिडभाड तथा सडकमा अनियन्त्रित रुपमा सवारी गुडाउँदा जोखिम झनै बढेको हो । रातको समयमा प्रभावकारी सुरक्षा गस्ती नभएको, तथा चर्को ध्वनी प्रदुषण रोक्न स्थानीय सरकारले बनाएको मापदण्ड समेत उल्लघंन भइरहेको हो । स्थानीयबासीहरुले चोरी तथा लुटपाटका घटना रोक्न चोक बजारमा नियमित रात्री गस्ती हुनुपर्ने तथा कानुनको पालना कडाइँसाथ गरिनु पर्ने माग गरेका छन ।

 

Facebook Comments Box