विष्णु पौडेल
गौरीगञ्ज/ सरकारसंग विपन्नहरुको आवासको लागि अनेकन कार्यक्रमहरु ल्याएको फेहरिस्त छ । ठाउँ ठाउँमा सुकुम्बासी तथा विपन्नहरुका लागि एकीकृत नमुना बस्तीनै नबसालिएका पनि होइनन । सुरक्षित नागरिक आवास, जनता आवास कार्यक्रम, विपन्न आवास कार्यक्रम आदि थुप्रै गरीब तथा असहायहरुको सुरक्षित बसोबासका लागि सरकारले अहिले चालू राखेका कार्यक्रमहरु हुन । तर यि कुनै पनि कार्यक्रमले गाउँमै सिंहदरबार आएपनि गौरीगञ्जको सिंहदरबारबाट झण्डै एक ÷ डेढ किलो मिटर दक्षिणमा परेको एउटा बस्ती । गौरीगञ्ज ३ को हुक्कागाछीका ८० बर्षिय धनीलाल महतोलाई पटक्कै छोएको छैन ।


घर बनाउने जमिन हुँदै नभएको पनि होइन । धनीलालसंग नाम जस्तै पुग्ने धन नभएपनि छाप्रो हाल्ने ५ धुर जमिन छ । त्यही जमिनमा आफन्त र आफनै दुख मेहनतले बनाएको खरको छानो भएको एउटा सानो झुप्रो छ । तर त्यो सानो झुपडी भित्र ठुलो वेदनाले पिरोलेको छ धनीलाललाई ।
मध्य चैतको टन्टलापुर घामका किरण धनीलालका घरमा प्रस्टै देखियो । ठाउँ ठाउँमा परालको छानो प्वाल परेर उदागिंएको छ । बर्खामा घर भित्रै पानीको भेल बग्छ । एकछिन बाहिर निस्कन्छन फेरी पानी कटाएर उही झुप्रोमा प्रवेश गर्छन धनीलाल । उनको यो क्रम बर्षौदेखि छ । ८० बर्षको उमेरमा धनीलाल त्यो घरमा एक्लै छन । सबै सन्तान आआफनो गरि खाने बाटोमा लागे ।
स्थानिय सरकारले उनको पक्की घर निर्माण गरिदिने भनी नाम टिपेर लग्यो । नाम पनि छनौट भयो तर ५ हजार रूपैयाँ अपुग भएपछि उनको नाम रद्द गरि उनको त्यो घरका लागि आउने भनिएको २ लाख ५० हजार रुपैयाँ अर्कैलाई दिइयो । अर्कैका नाममा घर पर्याे भन्छन मैंले ऋण काढेर २० हजार रूपैयाँ त निकालेको थिएँ तर ५ हजार पुगेन भत्ता आएपछि दिन्छु भनेको मानेनन – धनीलालले पाँच हजार अपुग हुँदा घरका लागि दिने भनिएको रकम अर्कैका लागि लगेको दृष्टान्त सुनाए ।
विपन्न आवास कार्यक्रम अन्तरगर्त गौरीगंज गाउँपालिकाले २ लाख ५० हजार रूपैयाँमा साझेदारीमा घर निर्माण गर्न उनको नाम छनौट गरेको थियो ।
गौरीगंज गाउँपालिकाको १ लाख २५ हजार रूपैयाँ , १ लाख रूपैयाँ ह्याविटेड फर ह्युमानिटि संस्था, सहारा नेपालको प्राविधिक सहयोग र २५ हजार रूपैयाँ उपभोक्ताको संयुक्त लगानीमा विपन्न आवास कार्यक्रम अन्तर्गत घर निर्माण गर्न उनको नाम छनौट भएको थियो ।
आफ्नो नाममा आएको घर अर्कैलाई दिएको थाहा भएपछि धनीलाललाई धेरै पीडा भयो । श्रवण शक्ति कमजोर भएका उनले भने – ‘ भत्ता आएपछि ५ हजार दिन्छु भन्दा पनि मानेनन । काम गरेर कमाउन सक्दिन । घर कहाँबाट बनाउनु । यहि झुप्रोमा बसेर बाँकी जिन्दगी बिताउनु छ ।
उनलाई पछिल्लो पटक सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत टिनको छानाका लागि ५० हजार रूपैयाँ दिने प्रकृयामा रहेको बताइएको छ ।
कोठा भाडामा बसेको बर्षाै भईसक्यो गौरीगंज गाउँपालिका वार्ड नं. ३ हुक्कागाछी बस्ने संगीता महतोको । उनलाई पनि सरकारको विपन्न आवास कार्यक्रम अभियानले छोएको छैन ।


गाउँघरको छरछिमेकले घर पाएको, जस्तापाता पाएको र घर निर्माणका लागि वजेट पाएको सुन्दा मन विरक्तिएको संगीताले सुनाईन् । ‘जसोतसो १० धुर जग्गा किनेको छु । त्यही जग्गामा घर निर्माणका लागि पटक पटक वडा कार्यालयलाई भने पनि कुनै सुनुवाई भएन’ – उनले भनिन । २ वटा छोरा ( राम लक्ष्मण) भएकी संगीताको पति दिपक महतो ज्यालादारीमा काम गर्छन् ।
गौरीगंज –३ हुक्कागाछीकी सुशिल्यादेवी महतोको पनि घर छैन । उनी छोरा बुहारीकै शरणमा छिन् । उमेरले ६८ बर्ष पुगेकी सुशिल्याको एउटा बस्ने सानो घर भईदिए आनन्दसंग बस्ने उनको धोको छ । ‘ घर जग्गा केही छैन उनको नाममा उनकी बुहारी सुनिताले सुनाउदै भनिन् – सासू आमालाई सानो भएपनि घर भए राम्रो हुन्थ्यो ।’
४० घर बन्दै
गौरीगञ्ज गाउँपालिकाले विपन्न आवास कार्यक्रम अन्तर्गत ४० वटा घर निर्माण गर्दैछ । गाउँपालिकाको १ लाख २५ हजार रूपैयाँ, ह्याविटेड फर ह्युमानिटिको १ लाख रूपैयाँ, सहारा नेपालको प्राविधिक सहयोग र २५ हजार रूपैयाँ उपभोक्ताको गरि २ लाख ५० हजार रूपैयाँको संयुक्त लगानीमा ४० घर निर्माण गर्ने योजना छ ।
जसमध्ये वार्ड नं. ३ मा ११ वटा, वडा नं. ४ मा १४ वटा र वार्ड नं. ५ मा १५ वटा घर निर्माण हुने प्रक्रियामा छन् । त्यसैगरी निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम अन्तर्गत ४८ लाख रूपैयाँ मध्ये ३८ लाख रूपैयाँ विपन्न आवास कार्यक्रममा छुट्याईएको छ । उनका अनुसार वार्ड नं. ६ मा ८ वटा, वार्ड नं.३ मा ५ वटा र वार्ड नं. ५ मा ३ वटा गरि १६ वटा घर निर्माण प्रक्रिया रहेको छ ।

 

Facebook Comments Box