दमक/राष्ट्रिय प्रजातन्त्र पार्टी दमकको नगर अधिवेशन यही १४ चैतमा गर्ने तयारी भएको छ । नगर अधिवेशन अघि सम्पन्न गरि सक्नु पर्ने वडा तहको अधिवेशन दमक नगरका १० वटै वडामा सम्पन्न भइसकेको राप्रपा दमक नगर अध्यक्ष भिमप्रसाद पौडेलले जानकारी दिए ।
सबै वडामा अधिवेशन सम्पन्न भइसकेको छ अब हामी नगर अधिवेशनमा केन्द्रित भएका छौं– नगर अध्यक्ष पौडेलले भने । उनका अनुसार यही वैशाखको दोश्रो साता पार्टीको केन्द्रिय महाधिवेशन गर्ने गरि हाल वडा तथा गाउँ नगरमा अधिवेशनहरु धमाधम भइरहेका छन । दमक ७ स्थित पौडेल वंशको नवनिर्मित भवनमा हुने अधिवेशनको उदघाटन कार्यक्रममा पार्टीका केन्द्रिय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
दमकमा राप्रपाको संगठनात्मक गतिबिधिलाई महत्वसाथ हेर्ने गरिन्छ । गत २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा दोश्रो शक्तिका रुपमा स्थापित भएको राप्रपालाई स्थानीय राजनीतिमा निक्कै महत्वसाथ हेर्ने गरिन्छ । राष्ट्रिय राजनीतिमा कमजोर मानिएको राप्रपा दमकमा भने निक्कै शक्तिशाली पार्टीका रुपमा हेरिन्छ ।
राप्रपाले यस अघिको स्थानीय तहको निर्वाचनमा दमकका २ वडाध्यक्ष र एक वडा सदस्य जितेको थियो । राष्ट्रिय राजनीतिमा प्रमुख प्रतिपक्षी रहेको कांग्रेस र त्यसपछिको शक्तिका रुपमा स्थापित भएको नेकपा माओवादी केन्द्रलाई समेत स्थानीय राजनीतिमा पछि पारेको राप्रपा आगामी निर्वाचनमा कुन रणनीतिका साथ अघि बढने हो ? भनेर दमकमा निक्कै चासो र महत्वसाथ हेरिएको छ ।