दमक/ झापाको दमकमा युवा व्यवसायीहरुको सकृयतामा सञ्चालनमा रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले १२ औं स्थापना दिवस मनाइरहेको छ । स्थापना दिवसको अवसर पारेर मंगलबारदेखि संस्थाले औपचारिक रुपमा झापाको झिलझिले र मोरङको उर्लाबारीमा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । दमक ६ स्थित बेलडाँगीमा मुख्य कार्यालय रहेको सो संस्थाले आफना सदस्यहरुको सुविधालाई मध्यनजर गर्दै मंगलवारदेखि ती दुवै स्थानमा औपचारिक रुपमा एकैसाथ सेवा केन्द्र सञ्चालनमा ल्याईएको व्यवस्थापक कमल कुमार घिमिरेले जानकारी दिए ।

शिवसताक्षी ८ स्थित झिलझिले सेवा केन्द्रको शिवसताक्षीका नगर प्रमुख चन्द्रकुमार शेर्मा र उर्लावारी ७ स्थित सो सेवा केन्द्रको उर्लावारीका नगर प्रमुख खड्ग फागोले उद्घाटन गरे । संस्थाले स्थापना दिवसको अवसर पारेर बुधबार ( भोली) नवनिर्मीत भवनको उद्घाटन समेत गरिने व्यवस्थापक घिमिरेले बताए । भवनको राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले उदघाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ । सोही अवसरमा उत्कृष्ट कारोवार गर्ने सदस्यहरुलाई सम्मान तथा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने संस्थाका अध्यक्ष रवि केसीले जानकारी दिए ।