दमक/ कांग्रेसका प्रभावशाली नेता एवं केन्द्रिय सदस्य डा. शेखर कोईरालाले विचारको राजनीतिमा गुट हुनु स्वभाविक भएपनि पार्टी अधिवेशनको तुस अन्य चुनावमा निकाल्ने परिपार्टी ठिक नभएको बताएका छन ।


झापाको दमकमा आज क्षेत्रीयस्तरका अगुवा पार्टी कार्यकर्ताहरुलाई सम्बोधन गर्दै नेता कोईरालाले  विचारको राजनीतिमा गुट हुनुलाई आफूले स्वभाविक रुपमा लिने गरेको भन्दै अधिवेशनको तुस चुनावमा निकाल्छ भने त्यो कांग्रेस हो कि होइन ? भनि कार्यकर्ताहरुसंगै प्रश्न गरे ।
कांग्रेसमा पहिलो वरियताका नेता वीपि कोईराला भारतमा हुँदा दोश्रो वरियताका नेता सूवर्ण शम्सेरले राजा र भारतसंग सहकार्य गरेर जानुपर्ने र कृष्णप्रसाद भट्टराईले जेलबाटै बरु जेल बस्न तयार छु तर राजासंग घुँडा टेक्दिन भनेबाट पनि इतिहासले कांग्रेसमा फरक विचार अर्थात मतान्तर हुने गरेको स्पष्ट हुन सकिने नेता कोइरालाको भनाई छ । कार्यकर्ताहरुले राखेका जिज्ञासाहरुको सम्बोधन गर्दै नेता डाक्टर कोइरालाले पार्टीमा विचारमाथिको बहस अहिले फरक भएर आएको पनि विश्लेषण गरे ।
कांग्रेस नेता कार्यकर्ता भित्रका अनेकन विकृतिहरुको बिषयलाई सुक्ष्म रुपमा केलाउँदै नेता कोईरालाले पार्टीका भातृ संगठनहरुको अधिवेशन समयमा नगरिनुलाई  लोकतान्त्रिक पार्टीभित्रको अलोकतान्त्रिक व्यवहार भनि आलोचना गरे ।
पार्टी सभापति शेर बहादुर देउवाप्रति लक्षित हुँदै नेता कोइरालाले भने – हामी लोकतान्त्रिक हौं त भन्छौं , हाम्रो आचरण, व्यवहार लोकतन्त्रवादी छ कि छैन ? डा. कोइारालाले नेकपा फुटेर अहिले एमाले र माओवादी बन्दैमा कम्युनिष्ट पार्टीका कार्यकर्ताले कांग्रेसलाई भोट दिएलान भन्ने कांग्रेसले सोच्नु गलत हुने भन्दै कांग्रेसले निर्वाचन जित्नका लागि संगठननै माध्यम भएको उल्लेख गरे । उनले भने– कम्युनिष्ट पार्टी क्याडर्स बेस पार्टी हो कम्युनिष्ट पार्टीको कार्यकर्ताले कांग्रेसलाई भोट हाल्दैन । कम्युनिष्ट क्याडर्सले कित एमालेलाई भोट हाल्छ कि त माओवादीलाई ।
पाँच बर्ष ओलीले सरकार चलाउन – डा. भण्डारी
भेलामा कांग्रेस केन्द्रिय सदस्य एवं विश्लेषक डा. चन्द्र भण्डारीले वर्तमान कम्युनिष्ट सरकारलाई पाँच बर्ष पूरा काम गर्न दिइनु पर्ने सुझाव दिए । कम्युनिष्ट पार्टीले बिकास र समृद्धीका नाममा जनतालाई ढाँटेको र यथार्थमा कम्युनिष्टहरु बिकास विरोधी भएको प्रमाणित गर्न पनि पूरा पाँच बर्ष कम्युनिष्ट सरकार रही रहनुपर्ने उनको तर्क थियो । डा. भण्डारीले भने – पाँच बर्ष ओलीले सरकार चलाउन फेरी कहिल्यै जनताले कम्युनिष्ट पार्टीलाई भोट दिने छैनन ।
जसले धेरै अवसर पायो उसैका गुनासा धेरै – गुरुराज घिमिरे
कार्यकर्ता भेलामा कांग्रेसका अर्का यूवा नेता एवं केन्द्रिय सदस्य गुरुराज घिमिरेले कांग्रेसमा जसले धेरै पद र प्रतिष्ठाको लागि ठाउँ ओगटेको छ उसैले अवसर नपाएको गुनासो राख्ने गरेको बताए । घिमिरेले भने – कांग्रेसमा एउटा अनौठो छ जसले बढी अवसर पायो गुनासो उही धेरै गर्छ । कांग्रेसको इतिहासमा सूवर्णले वीपिलाई र वीपिले सूवर्णलाई अवसर दिएको इतिहास पनि रहेको भन्दै पार्टी सभापति शेर बहादुर देउवाले नयाँ पुस्तालाई पार्टी सभापति किन नछोडने ? नयाँ पुस्ताबाट प्रधानमन्त्री किन नबन्ने ?  ७० बर्षको हुँदा सम्म कांग्रेसमा नयाँ पुस्तामै दर्ज भई राख्नु पर्ने ? मानिसको उमेर समुह अनुसार जिवनका हरेक कालखण्डका आआफनै महत्व रहेको चर्चा गर्दै नेता घिमिरेले चारधाम घुम्ने उमेर भएको ख्याल राख्न पनि पहिलो पुस्ताका नेताहरुलाई आग्रह गरे ।
धनराज गुरुङको प्रश्न – घोडा चढनै हतार भो ?
कार्यकर्ता भेलालाई सक्षिंप्त सम्बोधन गरेका कांग्रेसका अर्का यूवा नेता केन्द्रीय सदस्य धनराज गुरुङले कांग्रेस सभापति शेर बहादुर देउवाप्रति कटाक्ष गर्दै कांग्रेसले सरकारमा जान हतार गर्न नहुने धारणा राखे । उनले सभापति देउवा प्रधानमन्त्री बन्न खोजेको भन्ने चर्चाहरुप्रति व्यङग्य गर्दै भने – कांग्रेसको तबेलामा घोडा छैन तर कांग्रेसलाई घोडा चढने तीब्र इच्छा भएको जस्तो देखिदैंछ । कसैले घोडा चढने हतारमा खुट्टो उचालेर बसेका छन । उनले कांग्रेस नेता कार्यकर्ताहरुलाई सामाजिक सञ्जाललाई श्रीमतीको वर्थडे वीस गर्ने र कसैको चाकडी गर्ने माध्यमका रुपमा मात्रै प्रयोग नगरी विचारको प्रवाह गर्ने माध्यमका रुपमा उपयोग गर्न पनि सुझाव दिए ।
कार्यक्रममा पार्टी केन्द्रिय सदस्य सरिता प्रसाइँ, आमन्त्रित केन्द्रिय सदस्य दिलिप राई र जिल्ला सभापति उद्धव थापाले पनि आ आफना धारणा राखेका थिए ।
पार्टीका झापा क्षेत्र नं ५ का सभापति ढुण्डीराज भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा महिला संघ नगर सभापति मन्धरा पौडेलले स्वागत मन्तव्य राखेकी थिइन ।

Facebook Comments Box