दमक/ दमक ८ स्थित झापा मोडल अंग्रेजी मावि ( जेम्स)का बिद्यार्थीहरुले आफनो नेतृत्व चयन निर्वाचनमा मतदान गरेर चयन गर्ने अभ्यासलाई यस बर्ष पनि निरन्तरता दिएका छन ।

सो बिद्यालयका कक्षा ४ देखि कक्षा ९ सम्मका बिद्यार्थीहरुको एक बर्षका लागि छात्र छात्रा दुवै समुहका अलग अलग क्यप्टेन र सहायक क्याप्टेन चयनका लागि आज विधिवत रुपमा निर्वाचन भएको हो । बिद्यालयका प्रिन्सिपल सागर श्रेष्ठका अनुसार कक्षा ४ देखि १२ सम्मका बिद्यार्थीहरु सो निर्वाचनमा मतदाताका रुपमा सहभागी भएका छन । निर्वाचनमा छात्र छात्राका अलग अलग क्याप्टेन र सहायक क्याप्टेन गरी ४ जना चुन्न मतदाताका रुपमा बिद्यार्थीहरुले मतदान गरेका छन । निर्वाचनमा चार पदका लागि १७ जनाको उम्मेदवारी छ ।

लोकतान्त्रिक अभ्यास गरेर बिद्यार्थीहरुले १७ जना मध्येबाटै क्याप्टेन र सहायक क्याप्टेन निर्वाचित गर्नेछन । निर्वाचन गराउने जिम्मेवारी कक्षा १० का बिद्यार्थीले लिएका छन । लगातार चार बर्षयता सो बिद्यालयका बालबालिकाहरुले सोही प्रकृया मार्फत क्याप्टेन र सहायक क्याप्टेन चयन गर्ने गरेको बिद्यालयका शिक्षक प्रकाश पौडेलले बताए । यस बर्ष प्रमुख निर्वाचन अधिकृतको जिम्मेवार आभास नेपालले सम्हालेका थिए ।

त्यसैगरी सहायक निर्वाचन अधिकारी, मतदान अधिकृत र प्रतिनिधि तथा सुरक्षाकर्मी, पत्रकार लगायतको भुमिकामा बिद्यार्थीहरु प्रस्तुत भएर लोकतान्त्रिक प्रकृयाबाट निर्वाचन गराएका हुन । निर्वाचनको मतगणना भइरहेको छ । आजनै सो मत परिणाम सार्वजनिक हुने बिद्यालयले जनाएको छ । सो बिद्यालयले यस बर्षदेखि महारानीझोडास्थित स्कूलचौन माविसंग मितेरी बिद्यालयका रुपमा रहेर कार्यक्रमहरु गर्दै आएको छ । आजको निर्वाचनमा समेत सो बिद्यालयसंग समन्वय र सहकार्य गरिएको प्रिन्सिपल श्रेष्ठले बताए । स्कूलचौन माविमा भने भोली (बिहिबार) सोही ढंगबाट बिद्यार्थीको नेतृत्व चयन हुने जनाइएको छ ।