इटहरी/ टिकटक म्यासेन्जर मार्फत भएको चिनजानका आधारमा होटलमा दुई दिन सम्म राखेर युवतीमाथि बलात्कारको आरोपमा इटहरीबाट एक जना पक्राउ परेका छन । इटहरी उपमहानगरपालिका १३ बाट प्रहरीले काँस्कीका ३९ बर्षिय राजिव गुरुङलाई पक्राउ गरेको हो । उनीमाथि जबर्जस्ति करणी मुद्दा दायर भएपछि पक्राउ गरिएको हो ।

कास्कीको कास्कीकोट गाउँपालिका ४ स्थायी घर भएका ३९ वर्षीय गुरुङले गत माघ २७ देखि २९ गते सम्म होटलमा राखेर जवरजस्तीकरणी गरेको अभियोग छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायबउपरीक्षक (डीएसपी) अर्जुन केसीले अभियुक्त गुरुङमाथि सामाजिक सञ्जाल टिकटक म्यासेन्जरबाट एक युवतिसँग चिनजान गरी विवाहको प्रलोभन दिई जबर्जस्ति करणी गरेको आरोप छ । गुरुङले इटहरी ९ स्थित आरआर होटलमा राखी जबर्जस्ति करणी गरेको आरोप छ ।
यसैगरी, अभियुक्त गुरुङले युवति बाथरुममा नुहाइरहेको मौका पारी निजले लगाएको सुनको ४ आनाको झुम्का, सुनको १० आनाको ब्रास्लेट, ६ आनाको सुनको सिक्री, नगद रु २७ हजार पाँच सय रुपैयाँ, साँग्रिला बैँकको एक थान एटिएम कार्ड र एक थान हवाई होनर मोबाइल चोरीसमेत गरी फरार भएको डीएसपी केसीले बताए ।
पीडित युवतीको जाहेरीका आधारमा अभियुक्तको खोजीमा जुटेको प्रहरीले झापाकी एक महिलालाई यस्तै प्रकृतिबाट ठगी गर्ने नियतले झापातर्फ आउँदै गरेको भन्ने विशेष सूचनाका आधारमा गुरुङलाई पक्राउ गरेको केसीको भनाइ छ । पक्राउ परेका अभियुक्त गुरुङका साथबाट पीडित युवतीको एटिएम कार्डसमेत बरामद गरिएको जनाउँदै प्रहरीले उनीमाथि जबर्जस्ति करणी मुद्दामा सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको जनाएको छ ।
दमकका होटलमा बाउन्सर राखेर अबैध धन्दा
झण्डै एक बर्ष लामो कोरोना संक्रमण र त्यसका कारण सरकारले जारी गरेको लकडाउनका कारण होटल तथा पर्यटन क्षेत्र सुनसान भएपनि पछिल्ला दिनहरुमा यहाँका होटल तथा लजहरुमा त्यस किसिमको अबैध धन्दाको क्रम उच्च छ । विभिन्न ठाउँबाट आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरेर खुलेका होटल व्यवसाय सुनसान भएपनि कतिपय साना ठुला होटलहरुमा यस खाले धन्दाका लागि अघोषित रुपमा बाउन्सरनै राखेको पाइन्छ ।
यहाँका होटल तथा लजहरु भोक लाग्दा खाजा ÷ खाना खाने वा अप्ठयारो अवस्था परेर सुत्ने प्रयोजनका लागि भन्दा पनि धेरै लुकिछिपी वेश्यावृत्तीका लागि भएको पाइन्छ । यहाँका २०० बढी होटल तथा लज र त्यत्तिकै संख्यामा रहेका विभिन्न खाजा घरहरु मध्ये आधा जसोको धन्दा त्यस किमिसको छ । यहाँ हाइवेबाट केही टाढा (कम मानिसहरुले देख्ने) कुना काप्चामा खोलिएका होटलहरु चुकुल लगाएर ( आंशिक बन्द) गरेको जस्तो गरेर त्यस्तो धन्दा हुने गरेको हो । निष्कर्ष न्यूजले गरेको खोजका क्रममा दमक ५ का विभिन्न स्थानमा खोलिएका कतिपय होटलहरु नाम मात्रैको होटलको सेवाका लागि देखिन्छन । ति होटलहरुमा धन्दा भने वेश्यावृत्ती र तास जुवाको हुने गरेको छ ।
त्यस्ता होटलहरु विशेष सम्पर्क भएका मानिसहरु लुकिछिपी बस्ने प्रयोजनका लागि मात्रै हुन्छन । ति होटल तथा लजहरुमा सम्पर्कका आधारमा ग्राहक हुन्छन र आफना सम्पर्कित बाहेकका ग्राहकका लागि त्यहाँ सेवा बन्द गरिएको जनाउ दिने गरिन्छ ।
क्याबिन अर्थात पर्दा लगाएर चुकुल बन्द गरिएका ति भित्री कोठाहरुमा के धन्दा चलिरहेको छ ? भन्ने तर्फ न त यहाँका व्यवसायीक संघ संस्था वा अगुवाहरुले चासो राख्छन न त स्थानीय प्रहरी प्रशासनले नै राखेको छ ।
त्यस किसिमका होटलहरुमा वेश्यावृत्तीदेखि जुवातासको समेत धन्दा चलिरहेको छ । विभिन्न समुहका नाममा पैसा असुल्नेदेखि इन्टरनेटको दुरुपयोग गरेर सामाजिक सञ्जाल मार्फत ठगी गर्ने गिरोह समेत त्यस किसिमबाट महंगो मुल्य तिरेर कोठा भाडामा लिएर बस्ने गर्छन । जसका कारण ति होटलहरुमा सर्वसाधारणलाई प्रवेश गर्नै रोकिन्छ । चिया, कफि नास्ता जस्ता साधारण आइटमहरु साधारण ग्राहकका लागि ति होटलले बेच्नै इन्कार गर्ने गर्छन । त्यस्ता होटलहरुबाट घुमुवा प्रहरीले मासिक नजाराना लिने गरेको समेत पाइन्छ । दमकबाट साता अघि मात्रै यस्तो असुली धन्दााको आरोप लागेका एक जना घुमुवा प्रहरीको साता अघि मात्रै सरुवा भएको स्रोतको दाबी छ । त्यस्तो गिरोहले आफनो धन्दामाथि कसैले नजर लगाउन सक्ने सम्भावना कम गर्न अघोषित रुपमा बाउन्सर समेत राखेका छन । बाउन्सरले कुनैपनि कोणबाट त्यस्तो धन्दामाथि अवरोध आउने संकेत देखेमा प्रतिकार गर्ने गर्छन ।