प्रजापति सापकोटा दमक नगरपालिका वडा नं २ का निर्वाचित वडाध्यक्ष हुन । लामो राजनीतिक तथा सामाजिक जिवनको दौरानमा उनले तीन बर्ष अघि जनप्रतिनिधिका रुपमा निर्वाचित भई वडाध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन ।
उनी २०४३ सालमा पनि जनप्रतनिधिका रुपमा दमकको साविक ३ नम्बर वडामा थिए । यातायात व्यवसायको क्षेत्रमा समेत लामो अनुभव सम्हालेका उनले पूर्वाञ्चल यातायात व्यवसायी संघमा १६ बर्ष सम्म उपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए त्यस्तै वडामा जनप्रतिनिधि नहुँदा सर्वदलीय समितिको संयोजक र वडा नागरिक मञ्चको समेत संयोजकका रुपमा रहेर उनले अनुभव सम्हालिसकेका छन । प्रस्तुत छ सापकोटासंग दमक २ को बिकास निर्माण, भावी योजना, भइरहेको कार्य सम्पादन , अनुभव र प्रगतिका बिषयमा निष्कर्ष न्यूजले गरेको कुराकानी –

तपाइँका वडावासीले के परिवर्तनको महसुस गरेका छन् ?

परिवर्तन एकैसाथ त हुँदैन, क्रमश हुने कुरा हो । तर पनि यस वडामा तीनओटै तह मार्फत चालू रहेका विभिन्न विकासका योजनाले धेरैनै परिवर्तन भएको देखाएको छ ।
विपन्न तथा मध्यमवर्गीय परिवारको बसोबास रहेको र धेरै भाग ग्रामिण क्षेत्र रहेको यस वडामा क्रमश सवै सहरी सुविधाहरु पुग्दैछन् । हाम्रो कार्यकालमा कम्तिमा सवै प्रकारका आधारभूत सुविधाहरु पु¥याउने लक्ष्यका साथ काम भईरहेको छ । यस्तै सामाजिक विकास, सशक्तिकरणका क्षेत्रमा पनि विभिन्न कार्यक्रम गरिएका छन् । हरियाली अभिवृद्धी, वृक्षरोपण जस्ता कार्यमा विरुवा वितरण, सरल रुपमा सवै प्रकारका सेवा प्रवाह जस्ता कुरामा पनि हामीले ध्यान दिएका छौं ।

यस वडामा संघ तथा प्रदेश सरकारबाट कस्ता योजनाहरु आई रहेका छन् र स्थानीय सरकारले कस्ता योजनाहरु कार्यान्वयन गरि रहेको छ ?

यस वडामा संघीय सरकार तथा प्रदेशबाट वृहत योजनाहरु सञ्चालनमा छन् । जस्तो कि, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तर्गत ९० लाख रुपैयाँमा रतुवाको तटबन्धन गरिएको छ ।
यस्तै १ करोड ४० लाखको लागतमा थप काम पनि भइरहेको छ । ५७ करोड रुपैयाँको लागत रहने र वडा नं. २, ३ र ४ का बासिन्दालाई लाभ दिने गरि वृहत खानेपानी योजनाको काम भई रहेको छ । यसको टेण्डर प्रकृया पूरा भएर निर्माणको चरणमा छ ।
त्रिवेणी टोल र चुलाचुली जोड्ने स्थानमा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । अहिले मदन भण्डारी राजमार्गमा पर्ने रतुवामा पक्की पूल निर्माण भइरहेको छ । यसको औपचारिक शिलान्यास सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीबाट यही फागुन १६ गते हुँदैछ ।
प्रदेश, नगर संघीय सरकारबाट समेत हंसेदुम्से वन क्षेत्रमा रहेको सहिद वनबाटिकामा पूर्वाधार निर्माण भइरहेको छ । अहिले सम्म स्वागतद्धार र पोखरी निर्माण गरि घेराबारा गर्ने काम सम्पन्न भइसकेको छ ।
वनवाटिकाका लागि ५ हेक्टर क्षेत्रफल छुट्टयाइएको छ । त्यहाँ आन्तरिक पर्यटक भित्रयाउने लक्ष्यसहित अन्य संरचनाहरुको पनि बिकास भइरहेको छ । नजिकै कोभिड अस्पताल निर्माण भएको छ । खेल मैदानको निर्माण पनि भइरहेको छ । हाम्रै वडामा रतुवा किनारमा दाहसंस्कारका लागि मुक्तिघाट निर्माणको योजना छ । यसैबर्ष देखि नगरपालिका र वडाको बजेटबाट टहरा, बाटो सम्याउने लगायतका काम भएका छन । थप ५० लाख बजेट प्राप्त भएको छ । अब त्यसको विस्तृत निर्माण पूरा गरिनेछ ।
फोहोरमैला प्रशोधन केन्द्र पनि यसै वडामा निर्माणको क्रममा छ । यो १७ करोडको योजना हो । निजी क्षेत्र र विश्व बैंकको साझेदारीमा यो परियोजना तिब्र गतिमा सञ्चालन भइरहेको छ ।
हिमावि— मधुमल्ला सडक कालोपत्रे सम्पन्न भएको छ । गुम्बा चोकबाट उत्तर हिमावि हुँदै वडा कार्यालय ढुकुरपानी जाने बाटो १८ करोडको लागतमा तिब्र गतिमा काम भइरहेको छ ।
शिक्षा तर्फ हेर्ने हो भने हिमालय माविमा डेढ करोड रुपैयाँको लागतमा गत बर्ष नमूना विद्यालयका लागि पूर्वाधार निर्माण भएको छ । थप डेढ करोडको योजना पनि सञ्चालित छ । यसै बर्ष थप ५ करोड यो बिद्यालयका लागि प्राप्त भएको छ । बेलडाँगीस्थित सरस्वती आधारभुत बिद्यालयलाई नगरको नमुना बिद्यालय बनाउने कार्यक्रम छ । शौचालय र रंग रोगनको काम भइसकेको छ । कतिपय अभिभावकहरुले पनि यसमा सक्रियता देखाउनु भएको छ । यसका लागि नगर उपप्रमुख गीता अधिकारी ज्यूको विशेष सक्रियता छ ।
शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार लगायतका सवै क्षेत्र हाम्रो प्राथमिकतामा छन् ।
यस्तै प्रदेश सरकारको तर्फबाट फाल्गुनन्द बसपार्क निर्माणको काम भईरहेको छ । समग्रमा यस वडामा वृहत योजनाहरु सञ्चालनमा छन । अझै पनि कतिपय जारी अवस्थामा छन् ।
क्षमता विकास तर्फ पनि ध्यान दिएका छौं । यहाँको कृषि क्षेत्रको आधुनिकीकरणका लागि पनि हाम्रो प्राथमिकता छ ।
सामाजिक काम अन्तर्गतनै समाज सुधार प्रतिष्ठानमा संघीय सरकारको तर्फबाट पहिला २० लाख बजेट प्राप्त भएको थियो । सो योजनालाई निरन्तरता दिँदै यो बर्ष तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत थप ३० लाख रुपैयाँ प्राप्त भइ काम धमाधम भइरहेको छ । त्यहाँ गुरुकुल सञ्चालनका लागि पूर्वाधार निर्माण गरिँदैछ ।

अब यस वडामा कस्ता योजनालाई प्राथमिकता दिनुपर्ने अवस्था छ ?

हामीले पूर्वाधार विकासका लागि धेरै काम गर्नु पर्छ । यस्तै यहाँका सिमसार, पोखरीहरुको संरक्षण, स्तरीकरण, वातावरण संरक्षणका लागि पनि काम गर्दैछौं भने आधारभूत स्वास्थ्य केन्द्र र वडा कार्यालयको भवन निर्माण कार्य तिब्र गतिमा भइरहेका छन ।
यस वडामा खोलाको कटानको पनि समस्या भएकाले माथिल्लो तहका सरकारको समेत लागतमा यो काम पनि समपन्न गरेर खोला नदीको कटान र डुबानबाट वडाबासीलाई सुरक्षित गर्नु आवश्यक छ । त्यस्तै हात्तीको आतंक नियन्त्रणका लागि विशेष कार्यक्रमनै यहाँ आवश्यक छ ।

तीन बर्षको अवधिमा आफ्नो लक्ष्य हाँसिल गर्न सफल भएको ठान्नु हुन्छ ?

मैले भन्नुपर्दा हाम्रो वडा समिति परिवार एक ढिक्का भएर विकास तर्फ केन्द्रित भएका छौं । सवै जनप्रतिनिधि र वडाका कर्मचारीहरु हर समय वडाको काममा नै केन्द्रित भई रहेकाछौं । नगरपालिका कार्यालयबाट सम्पादन हुने काममा भने वडाबासीले झण्झट ब्यहोर्नु परिरहेको गुनासो हामीले खेपिरहेका छौं । कर्मचारीबाट हुनुपर्ने सुशासनको अनुभूति हुन नसकेको हामी कहाँ गुनासो आएको छ । यसका बिषयमा हामीले पनि सुक्ष्म रुपमा अनुसन्धान गरिरहेका छौं । छलफल गरिरहेका छौं । हामी जुनसुकै मुल्य चुकाएर पनि सुशासनको प्रत्याभूति दिलाउनेछौं ।

विपन्न बर्गका लागि तपाइँको वडामा के कार्यक्रम छन ?

हामीले वडा मार्फत वडाबासी अति विपन्न नागरिकहरुलाई निशुल्क स्वास्थ्य बीमा गरिदिएका छौं । यो बर्ष ८२ विपन्न परिवारको स्वास्थ्य बीमा निशुल्क गरिएको छ । अति विपन्न तथा सुकुम्बासीहरुको पहिचान गरेर आवासको व्यवस्था मिलाउँदै छौं । यस अघि ५७ परिवारलाई छानो लगाउन टिन ( जस्ता पाता) प्रदान गरेका छौं । यसपाली थप ३६ परिवार यसका लागि छनौट गरिएका छन । शुद्ध खानेपानीका लागि ५५ परिवारलाई बायो स्याण्ड प्रदान गरिएको छ । सुकुम्बासीहरुको पहिचानका लागि आयोगबाट फारम वितरण धमाधम भइरहेको छ । यसका लागि अथप पहल गरिएको छ । अति विपन्न सुकुम्बासीहरुलाई निशुल्क धनीपूर्जा प्रदान गर्ने कार्यक्रम छ ।

यातायात तथा ट्राफिक व्यवस्थापन समितिले कसरी काम गरिरहेको छ ?
मैले जुनरुपमा यो जिम्मेवारी पाएको छु, त्यस बेला देखिनै तोकिएको क्षेत्रमा काम गरिदै आएको छ । समितिले यातायात क्षेत्र, ट्र्राफिक प्रहरी, उद्योग वाणिज्य संघ तथा नगरबासीसँग सहकार्य गरेर काम गर्दै आएको छ । यस सम्बन्धि कार्यविधिनै पारित गरेर त्यसलाई कार्यान्वयन गराउने काम भइरहेको छ ।
सडक किनारामा मिचिएको क्षेत्र खाली गर्ने, बसपार्क तथा विसौनीहरुलाई व्यवस्थित पार्ने, भित्री सडकहरुमा पनि भएका अवरोध हटाउने र अवरोध हुने अवस्था आउन नदिने, बढि भिडहुने स्थानहरुमा एकतर्फी मात्र पार्किङ्को व्यवस्था गर्ने लगायतका काम भएका छन् । अझै पनि हामी यो सहरलाई सुन्दर बनाउने, पार्किङलाई सरल र व्यवस्थित पार्ने तर्फ सवै पक्षसँग सहकार्य गरि अघि बढिरहेका छौं ।

Facebook Comments Box