दमक/ दुई बर्ष अघि आगोले जलेर मृत्यु भएकी आर्थिक रुपमा विपन्न झापा कमल गाउँपालिका वडा नं ६ की कूलमाया बस्नेतको परिवारलाई स्थानीयको सक्रियतामा घर निर्माण शुरु गरिएको छ ।

घर निर्माणस्थलमा समितिका संयोजक हुकुमसिंह राई
दुई बर्ष अघि कूलमायालाई बचाउन गरिएको प्रयत्नका क्रममा गठन भएको कूलमाया बचाउ अभियान समितिलाई नै हाल घर निर्माण समितिमा रुपान्तरण गर्दै स्थानीयहरुले स्वर्गीय कूलमायाको परिवारलाई घर बनाइदिने जमर्को गरेका हुन ।
सोका लागि हुकुमसिंह राईको नेतृत्वमा ९ सदस्यीय समिति पुनर्गठन गरिएको समितिका सदस्य तथा घर निर्माणको अभियानमा जुटेका स्थानीय हर्क रायले जानकारी दिए ।
स्वर्गीय कुलमायाको बाबु बाजे बर्षौंदेखि स्थानीय नेपाल परिवारको घर जग्गा रेखदेखका लागि बसेका र घरबिहिन अवस्थामा कूलमाया र उनकी आमाले समेत मृत्युवरण गर्नुपरेकोले उनको परिवारका लागि सो ठाउँको आँपडाडामा आवासको व्यवस्था मिलाउने प्रयत्न स्वरुप घर निर्माण थालिएको समितिले जनाएको छ ।
समितिका संयोजक राईका अनुसार नेपाल परिवारबाट बस्नेत परिवारलाई १० धुर जग्गा उपलब्ध गराइएको छ । सोही जग्गामा समितिको सक्रियतामा सहयोग जुटाएर स्वर्गीय कूलमायाका बुबा देवी बहादुर, छोरा विदुरसहितको परिवारको बसोबासका लागि चार कोठाको घर बनाउन शुरु गरिएको संयोजक राईले बताए । समितिले सबैको सहयोगमा घर निर्माण सम्पन्न गरेर बस्नेत परिवारलाई हस्तान्तरण गर्ने योजना रहेको जनाएको छ । कूलमायाको बचाउका लागि दाताहरुबाट दुई बर्ष अघिनै जुटाइएको करिब साढे ३ लाख रुपैयाँ भने बैंक खातामा जम्मा गरिएको छ । सो रकमको ब्याज वापतको रकम निकालेर यस अघि देवी बहादुरका छोरा विदुरको उपचारका लागि दिइएको र घर निर्माण अन्य दाताहरुबाटै पूरा गरी बस्नेत परिवारको जिविकोपार्जनका लागि रकम सो रकम समेत हस्तान्तरण गरिने सदस्य रायले बताए । समितिले आर्थिक रुपमा विपन्न बस्नेत परिवारको घर निर्माणमा सहयोग गरेर सहज जिवनयापनको वातावरण बनाउन सहयोगका लागि सबै संग आव्हान समेत गरेको छ ।
कूलमायालाई बचाउन नसकेको क्षण
जन्मिदै सुस्त मनस्थिती जस्तो लक्षण भएकी कुलमाया गाईलाई खोले पकाउने क्रममा आगोमा परेकी थिइन् । स्थानीय नेपाल परिवारको घर र खेतबारी सम्हालेर जिविकोपार्जन गर्दै आएको कुलमायाको परिवारमा १२ बर्ष अघि उनकी आमाको उच्च रक्तचापका कारण गर्भावस्थामा ज्यान गएको थियो ।
कुलमायालाई भने घट्ना लगत्तै तत्काल स्थानीय अस्पतालहरुमा प्रारम्भिक उपचार गरि थप उपचारका लागि धरानस्थित वीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो ।
आर्थिक अभावकै कारण पूर्ण उपचार नगराई उनको परिवारले १२ दिनपछि अस्पतालमै सहयोग रकम उठाएर घर सम्म ल्याइएको थियो । धरानबाट फर्किएपछि उनको शरिर जलेर कुहिन थालेको थियो ।
शरिर पोलेर छटपटाएकी उनलाई थप उपचारका लागि कुलमाया बचाउ अभियान सञ्चालन गरिएको थियो । हुकुमसिंह राईको नेतृत्वमा रहेको सो अभियानको पहलमा दमकस्थित एडभान्स अस्पतालमा डा. सन्तोष सुवेदीको नेतृत्वको चिकित्सकहरुको टिमले गरेको अथक प्रयासका बाबजुद उनलाई गुमाउनु परेको थियो ।