दमक/ झापा र सुनसरीमा पछिल्लो २४ घण्टामा भएका अलग अलग घटनामा दुई जना बालकको मृत्यु भएको छ । । झापाको कमल ६ का सन्तोष भण्डारीका ६ बर्षिय छोरा ढुण्डीराजको घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको हो भने सुनसरी बराहक्षेत्र नगरपालिका वडा नं ८ का १४ बर्षीय प्रज्वल राईको बालुवा र माटो सहितको ढिस्कोमा पुरिएर मृत्यु भएको छ ।
कमल ६ का भण्डारी हिजो अपरान्ह केही क्षणमै घरबाट हराएको र खोजी गर्ने क्रममा नजिकैको पोखरीमा भेटिएका थिए । उनको उपचारका लागि तत्कालै दमकस्थित लाइफलाइन अस्पतालमा भर्ना गरिएकोमा उपचारका क्रममा शुक्रबार राती करिब १२ बजे उनको मृत्यु भएको उनका काका अरुण भण्डारीले जनाएका छन । उनको शनिबार बिहान पोस्टमार्टम पछि कन्काई नदीमा दाहसंस्कार गरिएको छ । घटनापछि सो गाउँ शोकमग्न भएको छ । उता बराहक्षेत्र ८ सालबन्दीस्थित कोशी नदीको किनारमा आज दिउँसो १ बजे पानी जमेको भौडीको डिलमा खेल्ने क्रममा १४ बर्षिय राईको मृत्यु भएको हो । अचानक प्रज्वललाई बालुवा र माटो सहितको ढिस्को झरेर पुरेको स्थानीयले देखेका थिए । उनलाई तत्काल उपचारार्थ बराहक्षेत्र नगर अस्पतालमा लगिएको र उपचारको क्रममा दिउँसो २ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीले जनाएको छ । उनी संगै खेल्ने गएका उनकै भाई १० बर्षीय राजन राई समेत पुरिएर घाईते भएका छन । उनलाई थप उपचारको लागि घोपा धरान लगिएको प्रहरी कार्यालयले जनाएको छ ।