दमक/ झापाको गौरादह १ मा रोटरी क्लब अफ दमकले आयोजना गरेको एक दिने निशुल्क आँखा शिविरमा ३५२ जनाले सेवा लिएका छन ।
आज शनिबार जनता मावि परिसरमा गौरादह १ को वडा कार्यालयको सहआयोजनामा सञ्चालित सो शिविरमा आएका मध्ये ४३ जनामा मोतिया बिन्दुको समस्या देखिएकाले शल्यक्रियाको लागि सिफारिस गरिएको कार्यक्रम संयोजक पदम बरालले जानकारी दिए । समस्या देखिएका बिरामीलाई निशुल्क औषधि र चश्मा रोटरी क्लबले प्रदान गरेको छ भने शल्यक्रिया सेवाका लागि १ नम्बर वडा कार्यालयले सहयोग गर्ने जनाइएको छ ।
आयोजक क्लबकी अध्यक्ष शान्ता ढकालको अध्यक्षतामा भएको शिविर उदघाटन कार्यक्रममा गौरादह १ का वडाध्यक्ष नगेन्द्र भण्डारी, गौरादह नगर उद्योग वाणिज्य संघका अध्यक्ष जित बहादुर कार्की लगायतको आतिथ्य रहेको थियो । विर्ताज्योती आई केयर दमकको प्राविधिक सहयोग रहेको सो कार्यक्रमको सञ्चालन रोटरी क्लब दमकका सचिव शान्तिराम निरौलाले गरेका थिए ।
