दमक/ हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए , बन्दैन मुलुक दुई चार सपुत मरेर नगए …कवि भुपी शेरचनको शहिद कविताको यो अशं प्रजातन्त्र स्थापना तथा नागरिक स्वतन्त्रताका लागि ८० बर्ष अघि शहिदहरुले गरेको बलिदानीका सन्दर्भमा लेखिएको थियो ।
विसं १९९७ सालमा तत्कालिन राणा शासकहरुले नेपाली जनताको स्वतन्त्रताका निमित्त लडेका महान शहिदहरुलाई मारेको त्यो दिनको सम्झना प्रत्येक बर्ष शहिद दिवसका रुपमा मनाउँदै गर्ने गरिन्छ ।
तिनै शहीदको सम्झनामा हरेक बर्ष आजदेखि शहीद सप्ताह मनाइँदै आएको छ ।
सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीलाई फाँसी दिइएको टेकु खरिबोटमा श्रद्धाञ्जलीसभा गरिँदै छ ।
यस्तै १३ गते बिहान आठ बजे सिफलमा रहेको धर्मभक्त माथेमा फाँसी दिइएको ठाउँ र १५ गते बिहान आठ बजे गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई गोली हानिएको शोभा भगवतीमा श्रद्धाञ्जलीसभा गरिनेछ ।
सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन माघ १६ गते शान्तिबाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र शहीदहरुको तस्बिर राखिएको बग्गीसहितको प्रभातफेरी शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जलीसभामा परिणत हुने छ ।
लैनचौरमा हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधिलगायत सहभागी हुनुहुने महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले जानकारी दिए ।
२०१२ सालदेखि काठमाण्डौ नगरको संयोजकत्वमा शहीद सप्ताह अन्तर्गतका कार्यक्रम मनाइँदै आएको छ । प्रजातन्त्रको माग गर्दा तत्कालिन राणा शासकले १९९७ साल माघ १० गते शुक्रराज शास्त्रीलाई काठमाण्डौको टेकुमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र माघ १५ गते गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई शोभाभगवतीमा मृत्युदण्ड दिएका थिए

Facebook Comments Box