दमक/ सरकारले गरेको संसद बिघटन असंबैधानिक र जनचाहना विपरितको भएको विरोधमा आन्दोलनरत नेपाली कांग्रेसले आज देशैभर वडास्तरमा सरकार विरुद्ध प्रदर्शन गरेको छ । कांग्रेसको केन्द्रीय सर्कुलर अनुसार झापाको कमल र दमकमा पनि कांग्रेसले वडास्तरमा नै सरकार विरुद्ध प्रदर्शनसहित विरोध सभाहरु सम्पन्न गरेको छ । कांग्रेसले वडास्तरमा सो विरोध कार्यक्रम सञ्चालनका लागि पार्टी नेताहरुलाई खटाएको थियो ।
दमकका विभिन्न वडाहरुमा भएको प्रदर्शनपछिका कोण सभाहरुलाई सम्बोधन गर्दै वक्ताहरुले संसद पुर्नस्थापना गरेर जनताका प्रतिनिधि स्थापित गराउनुपर्ने कांग्रेसको प्रमुख माग रहेको उल्लेख गरे ।
दमक १ का विभिन्न भागमा प्रदर्शनपछि फाल्गुनन्द चोकमा विरोध सभा गरेको थियो । त्यसैगरी दमक २ को वडा कार्यालय परिसरमा कोण सभा गरिएको थियो । सो कोण सभालाई नेपाल बिद्यार्थी संघका पूर्व केन्द्रिय उपाध्यक्ष समेत रहेका कांग्रेस महासमिति सदस्य मेदनी प्रसाद सिटौलाले सम्बोधन गर्दै समृद्धिको नारा घन्काउने प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार आफैं विकास र समृद्धिको बाधक प्रमाणित भएको आरोप लगाए ।
जनताका अधिकारमाथि प्रहार गर्ने सरकारको रवैया कुनैपनि हालतमा टिक्न नदिने उनले उदघोष गरे । सो कोण सभालाई महिला नेतृ चन्द्रा खडकाले समेत सम्बोधन गरिन । त्यसैगरी । दमक ३ को ढुकुरपानीमा महासमिति सदस्य सुरेश सुब्बा र महिला नेतृ मन्धरा पौडेल ४ मा महाधिवेशन प्रतिनिधि अइन्द्र केरुङ र जिल्ला सदस्य रवि केसी, वडा नं ५ मा महासमिति सदस्य शेर बहादुर भट्टराई र क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी , वडा नं ६ मा जिल्ला सहसचिव राजेन्द्र भण्डारी र नगर सभापति रोशन विष्ट , वडा नं ७ मा महाधिवेशन प्रतिनिधि रोशन गौतम र तरुण दल झापाका पूर्व जिल्ला सभापति भुमिराज राई , वडा नं ८ मा जिल्ला सदस्य उमाकान्त आचार्य र विक्रम अधिकारी , वडा नं ९ मा महासमिति सदस्य दिल बहादुर बुढाथोकी र महाधिवेशन प्रतिनिधि सत्यनारायण चौधरी र १० मा संविधान सभा सदस्य समेत रहेका नेता विश्वदिप लिङदेन र जिल्ला सदस्य हरि सुवेदीले सम्बोधन गरेका थिए ।
त्यसैगरी कमलको वडा नं ५ र ६ तथा वडा नं २ को क्याम्पामा साँझ निकालेको मसाल जुलुशमाथि प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरी हस्तक्षेपका बाबजुद ति वडाहरुमा मसाल जुलुश प्रदर्शन गरेर कम्युनिष्ट सरकारको रवैया विरुद्ध जनमत प्रस्तुत गरिएको साविक लखनपुरका पार्टी सभापति राजकुमार न्यौपानेले जानकारी दिए । विरोध कार्यक्रमका लागि वडा नं १ मा जिल्ला सदस्य हुकुमसिंह राई, वडा नं २ तत्कालिन तोपगाछी गाउँ समितिका पूर्व सभापति बुद्धिराज न्यौपाने, वडा नं ३ मा पूर्व महासमिति सदस्य तथा पार्टी नेता राजन बहादुर ढुंगाना, ४ मा कांग्रेस कमलका स्थानीय तत्कालिन लखनपुर गाउँ समितिका सभापति राजकुमार न्यौपाने, ५ मा जिल्ला सदस्य ढलक बहादुर पन्त र ७ मा पार्टीका आमन्त्रित केन्द्रिय सदस्य दिलिप राईलाई पार्टी प्रतिनिधिका रुपमा खटिएका थिए । कमलको वडा नं ६ मा खटाइएका पार्टी प्रतिनिधि जिल्ला सहसचिव राजेन्द्र भण्डारी भने कार्यक्रममा उपस्थित नभएका वडा सभापति रोशन दाहालले जानकारी दिए ।

 

 

Facebook Comments Box