दमक/ गौरीगञ्ज गाउँपालिकाको आठौँ गाउँसभाको खुल्ला सत्र आज बुधबार सकिएको छ । गाउँपालिकाका सभाहलमा गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठको अध्यक्षतामा भएको सभाको उदघाटनमा गाउँपालिपकाका अध्यक्ष बाबुराजा श्रेष्ठले गौरीगंज गाउँपालिकाको विकास निर्माण काम सन्तोषजनक रुपमा अघि बढेको बताए । उनले गाउँपालिकाका सबै वडामा सन्तुलित विकासको अनुभूति गराउन प्रतिबद्ध रहेको जनाए ।
गौरीगंज गाउँवासीलाई जन्मदेखि मृत्युसम्म राहत सहयोगको व्यवस्था गरेको भन्दै अध्यक्ष श्रेष्ठले १ देखि ६ सम्मकै वडालाई जनसंख्या र भुगोलको आधारमा सिलिङ्ग वजेट विनियोजन गरिएको अध्यक्ष श्रेष्ठको भनाई छ ।
सबै क्षेत्रलाई समानुपातिक ढंगले बजेट प्रक्षेपण गरेको र आठौंगाउँसभामा २१ वटा थप योजना तथा कार्यक्रमहरू समावेश गरिएको उनले जानकारी दिए । आठौ गाउँसभाबाट थप २१ वटा योजना तथा कार्यक्रमहरूको करिब ६४ लाख ७५ हजार रूपैयाँको बजेट थप हुने बताए । गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाले स्वागत गरेको सभाको उदघाटन सत्रमा गाउँपालिकाले एकल अधिकार अन्तर्गत निर्माण गर्न हुने सबै ऐन, कानुन, कार्यविधि र नियमावली बनिसकेको र साझेदारीमा संघ र प्रदेशसंगको समन्वयमा निर्माण गर्ने कानुनहरू मात्र निर्माण गर्न बाँकी रहेको उपाध्यक्ष थापाले बताएका थिए ।
आर्थिक वर्ष २०७७÷७८ को करिब ६ महिनामा ३ सय ७९ वटा योजना तथा कार्यक्रमहरू मध्ये २ सय ९९ वटा योजना तथा कार्यक्रमहरू अघि बढ्न सकेका छैनन् । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु दाहालले पुजीगततर्फको ३१ करोड ३२ लाख रूपैयाँको ३ सय ७९ वटा योजना तथा कार्यक्रममा २५ प्रतिशतमात्र गाउँपालिकाको ६ महिनाको कार्य सम्पादन भएको संक्षिप्त प्रगति विवरण सुनाए ।
उनले गाउँपालिकाको जम्मा ३७९ योजना तथा कार्यक्रम मध्ये २९९ वटा योजना अगाडि बढ्न नसकेको, २५ वटा योजनामात्र सम्झौता भएको, ६५ वटा योजनाको रकम भुत्तानी भएको, ६ वटा योजनाको मुल्यांकनको आधारमा भुत्तानी दिएको, २ वटा योजनाको पेश्की दिएको जानकारी गराए ।
गौरीगंज गाउँपालिका वार्ड नं. १ का अध्यक्ष कार्तिकलाल राजवंशीले गाउँपालिकाले सबै वडाहरूलाई समानुपातिकरूपमा वजेट विनियोजन नगरेको आरोप लगाउदै वडा नं. १ को बजारहरूको डिपीआर शहरी विकास कार्यक्रम अन्तर्गत नपरेको गुनासो गरेका थिए । गौरीगंज गाउँपालिकाको समग्र विकासलाई तीन प्रकारले व्याख्या गर्दै वडा अध्यक्ष राजवंशीले गौरीगंजको विकासको मोडललाई आध्यात्मिक ढंगले चर्चा गरेका थिए ।
त्यसैगरी गाउँसभाको खुल्ला सत्रमा वडा नं. २ का वडाध्यक्ष अघ्नु प्रसाद राजवंशीले योजना संशोधन र थप वजेटको आठौ अधिवेशन भएको टिप्पणी गर्दै कार्यपालिकाको वैठकमा निर्णय भएको कतिपय विषयहरू कार्यान्वयन नभएको दुःखेसो पोखे ।
गौरीगंज गाउँपालिका वार्ड नं. ३ का वडा अध्यक्ष मखना महतोले आठौ गाउँसभालाई सम्बोधन गर्दै कर्मचारी र जनप्रतिनिधिको नङ्ग र मासुको सम्बन्ध भएको बताउँदै कर्मचारी र जनप्रतिनिधि मिलेर गाउँपालिकाको विकासमा लाग्नु पर्ने सुझाव दिए । वजेट रकमान्तर र अधुरो अपुरो रहेका योजनाहरूको कार्यन्वय गर्न आठौंं गाउँसभा महत्त्वपूर्ण भएको हुदाँ सबैले सहयोग गर्नु पर्ने वडा अध्यक्ष महतोले बताएका थिए ।
वडा नं. ४ का अध्यक्ष कुलप्रसाद गिरीले गाउँपालिकाले वजेट विनियोजनमा वार्ड नं. ४ लाई कञ्जुस्याई गरेको भन्दै सबै वडाका बजारहरूलाई समानुपातिकरूपमा वजेट विनियोजन गर्नु पर्ने बताएका थिए ।
वडा नं. ५ वडा अध्यक्ष विजय प्रसाद सिंह गन्गाईले हरेक वर्ष वार्ड नं. ५ लाई कम बजेट परेको भन्दै गुनासो पोखेका थिए । वार्ड नं. ५ मा कम वजेट परेपनि वार्डको विकासमा आफु सहकार्य गरेर अघि बढेको भन्दै वडा अध्यक्ष सिंहले वडामा एनसेल र एनटिसीको टावरको आवश्यकता रहेको बताएका थिए । गाउँसभाको खुल्ला सत्रमा कर्मचारीको तर्फबाट अधिकृत विरेन्द्र खड्काले कार्यालयहरूमा सुशासन कायम राख्न मानव संशाधनको व्यवस्थापनमा जोड दिनु पर्ने बताएका थिए । खुल्ला सत्रमा कार्यपालिका सदस्य राधा अधिकारी, वडा सदस्य उदिमकुमार राई लगायतले बोलेका थिए ।

Facebook Comments Box