काठमाडौ / खाने तेलको भाउ बढाएर उपभोक्तामाथि ठगी गर्ने दुई उद्योगलाई तीन÷तीन लाख रुपैयाँ जरिवाना गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारबाही स्वरुप सो रकम जरिवाना तिराएको हो ।
बजारमा खाने तेलको मूल्य अस्वाभाविक रूपमा बढेको गुनासो आएपछि विभागले बजार अनुगमन गरेको थियो । अनुगमनका क्रममा बारामा रहेका दुई उद्योगले मूल्य बढाएको भेटिएपछि कारबाही गरिएको विभागले जनाएको छ ।
विभागले बारामा रहेको अन्नपूर्ण भेजिटेवल प्राली र महालक्ष्मी सोल्भेन्ट एण्ड रिफाइनरी प्रालीलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार तीन–तीन लाख रुपैयाँ जरिबाना गरेको जनाइएको छ । तीन महिनाअघिको तुलनामा अहिले तोरीको तेलको मूल्य प्रतिलिटर ४० रुपैयाँ, सनफ्लावर तेल प्रतिलिटर ४० रुपैयाँ र भटमासको तेल लिटरमा २० रुपैयाँभन्दा बढीले मूल्य बढेको छ ।
स्वदेशी उत्पादनले नपुग्ने र अन्तर्राष्ट्रिय बजारमा निर्भर हुनुपर्दा खाने तेलको मूल्य बढेको व्यवसायीहरू बताउँछन् ।

Facebook Comments Box