पैसा बिनाको बैंक खाताको चेक दिने तीन पक्राउ

Author Nishkarsha News
२०७७ माघ ५, सोमबार ०७:४६

दमक\ पैसा नभएको बैंक खाताको चेक दिएका तीन जनालाई बैंकिङ कसुर मुद्दामा दोषी ठहर गर्दै पक्राउ गरिएको छ । उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा दोषी ठहर गरेपछि भागेका विभिन्न ठाउँका तीन जना हिजो पक्राउ परेका हुन् ।
चितवनको भरतपुर महानगरपालिका १४ का रामबहादुर अधिकारी, काठमाण्डौको चन्द्रागिरि नगरपालिका २ का सुवास थापा र गोरखाको गण्डकी गाउँपालिका २ का विष्णु अंगाई पक्राउ परेका केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ । पक्राउ परेकाहरूलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित जिल्ला अदालतमा पठाइएको छ ।
नबिल बैंक, सनराइज बैंक, लक्ष्मी बैंक र राष्ट्रिय वाणिज्य बैंकका विभिन्न रकमका खाली चेक दिएर बैंकिङ कसुर गरेको उनीहरूमाथि आरोप छ । उच्च अदालत पाटनले चितवनका अधिकारीलाई दुई करोड ३२ लाख रुपैयाँ जरिबानासहित ५५ दिन कैद फैसला गरेको थियो ।
यस्तै काठमाण्डौका चन्द्रागिरि नगरपालिकाका थापालाई ५९ लाख ७९ हजार रुपैयाँ जरिबानासहित १७ दिनको कैद फैसला भएको थियो भने गोरखाका अंगाईलाई १० लाख रुपैयाँसहित एक महिना कैद फैसला भएको थियो ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्