दमक/माधबकुमार नेपाल नेतृत्वको नेकपाले झापाको कमल गाउँपालिकामा पार्टी भित्रै आन्दोलन परिचालनका लागि संगठन निर्माण गठन गरेको छ ।
पार्टी केन्द्रमा केपी शर्मा ओली नेतृत्वको स्वैच्छाचारी शैली सच्याउन दबाब दिइरहेको नेकपाले दबाबका लागि देशव्यापी आन्दोलन गर्ने भन्दै जिल्लातहमा आन्दोलन परिचालन समिति बनाएको थियो ।

सोही कमिटीको गाउँस्तरीय नेतृत्व निर्माण गर्ने उद्धेश्यले कमलमा शनिबार आयोजित पार्टीको विस्तारित बैठकले पार्टी जिल्ला कमिटी सदस्य मणिकुमार भण्डारीको संयोजकत्वमा आन्दोलन परिचालन कमिटी गठन गरिएको हो ।
पार्टीका जिल्ला निर्वाचन विभाग सदस्य विमल संग्रौलाको अध्यक्षतामा आज भएको विस्तारित बैठकले भण्डारीको संयोजकत्वमा प्रताप सुब्बा सहसंयोजक, रविन गुरुङ सचिव र नरेन्द्र भट्टराई सहसचिव रहेको ५०१ सदस्यीय कमिटी गठन गरिएको जनाइएको छ । सो समुहले झापाको क्षेत्र नं ५ मा संगठनात्मक प्रशिक्षण तथा सरकार विरुद्धको आन्दोलन परिचालनका लागि झलकसिंह दर्लामीलाई नेतृत्वको जिम्मेवारी प्रदान गरेको बुझिएको छ । जिल्लास्तरमा भने रविन कोइरालाको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरेर सो समुहले जिल्लाभर आफनो अभियान सञ्चालन गर्दै आएको छ ।