दमक /झापाको दमक–४ मा आधारभूत स्वास्थ्य भवन निर्माणका लागि भवन शिलान्यास भएको छ । दमक नगरपालिकाले प्रत्येक वडामा आधारभूत स्वास्थ्यका लागि स्वास्थ्य भवन बनाउने योजना स्वरूप दमक–४ मा भवन निर्माणको थालनी भएको हो । भवनको शिलान्यास दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी, दमक–४ वडाध्यक्ष कुमार साम्सुहाङलगायतले गरेका थिए ।

शिलान्यस कार्यक्रममा मेयर ओलीले जनताका आधारभूत आवश्यकता पूरा गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताए । संघीयताको मर्मअनुसार स्थानीय सरकारले जनताका गुनासालाई नजिकबाट नियालेर काम गरेको दाबी गरे । उपमेयर अधिकारीले दमकमा स्वास्थ्य सेवालाई विस्तार गरिने बताइन् । दमक अस्पतालमा पनि विशेषज्ञसहितको सेवा विस्तार गरिएको बताइन् । अब दमकका नागरिकले उपचारका लागि महँगो शुल्क तिरेर निजी अस्पताल गइरहन नपर्ने बताइन् । वडाध्यक्ष साम्सुहाङले समयमै निर्माणको काम सकिने र उपचारका लागि वडाबासीले निजी क्लिनिकका एचएलाई भेटिरहनुनपर्ने बताए ।

दमक नगरपालिकाका इञ्जिनीयर अनन्त सेनेहाङले गुणस्तरहिन काम भएको पाइए सोझै आफूलाई सम्पर्क गर्न नागरिकलाई आग्रह गरे । दमक–४ मा उक्त आधारभूत स्वास्थ्य भवन निर्माणका लागि स्थानीय डम्बरमाया उप्रेती, अम्बिका पाठक, श्रीमान धिमाल, सारदा खरेल, एकनाथ सिवाकोटी, उमेश धिमाल, मिनाक्षी धिमाल, सुरज धिमाल र वैधबहादुर धिमालले जग्गा दिएका थिए ।

उक्त भवन निर्माणको जिम्मा माङसुवा–प्रविन जेभीले पाएको छ । नगरभरिका ६ वटा आधारभूत स्वास्थ्य भवनको निर्माणका लागि चार करोड ७५ ८ हजार १२७ मा ठेक्का लगाइएको दमक नगरपालिकाले जनाएको छ । यि भवन आउँदो वर्षको कार्तिकमा निर्माण सम्पन्न हुनुपर्ने नगरपालिकाले जनाएको छ ।

Facebook Comments Box