पाँचथर/  पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नम्बर २ स्थित इम्बुङमा १६ औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको शालिक स्थापना गरिने भएको छ ।
इम्बुङका स्थानीय तथा विदेशमा बस्दैआएका बासिन्दाहरुको अगुवाईमा महागुरुको शालिक राख्न लागिएको हो । शालिक निर्माण गर्न इम्बुङ घर भई हाल काठमाडौंमा बस्दैआएका समाजसेवी भिम प्रसाद नेम्बाङको अध्यक्षतामा एक निर्माण उपभोक्ता समिति गठन गरि काम थालिएको जनाईएको छ । गठित उपभोक्ता समितिको उपाध्यक्ष गजेन्द्र नेम्बाङ, सचिवमा सागर नेम्बाङ,सहसचिवमा दिपक नेम्बाङ र कोषाध्यक्षमा कला चेम्जोङ लगायत रहेका छन् ।
निर्माण समितिका अध्यक्ष नेम्बाङका अनुसार एक महीनादेखि शालिक बनाउने कार्य धमाधम भईरहेको छ । शालिक १३ फिट अग्लो पूर्ण कदको हुने छ । शालिक यहि चैत्र भित्रमा स्थापना गरि उद्घाटन गरिने तय भएको अध्यक्ष नेम्बाङले वताएका छन् ।
शालिक इम्बुङको हाङसाङवरक पोखरीको जमिनमा राखिने र त्यसका लागि वडा कार्यालयले गत असोजमा नै जग्गा व्यवस्थापन गरिसकिएको वडाध्यक्ष बहादुरसिंह नेम्बाङले जानकारी दिए ।
महागुरुको अनुनायीहरुको सक्रियतामा बन्न लागेको शालिक निर्माण गर्न स्वदेश तथा विदेशमा बस्दैआएका इम्बुङेलीबासीहरुबाट स्वेच्छिक सहयोग जुट्न थालेको अध्यक्ष नेम्बाङले वताएका छन् ।

Facebook Comments Box