दमक/ झापा दमक नगरपालिका वडा नं ३ का जनप्रतिनिधिहरुले आफनो पारिश्रमिक तथा प्राप्त सेवा सुविधा बापतको रकमबाट स्थानीय एक विपन्न परिवारलाई पक्की घर बनाइदिएका छन ।

वडा नं ३ स्थित बाघखोर चोकबाट करिब एक किलोमिटर नजिकैको टोलमा लामो समयदेखि बसोबास गर्दै आएको ९४ बर्षिया धनमाया लामिछानेसहितको परिवारका लागि वडाध्यक्ष र वडा सदस्यहरुले तीन कोठाको पक्की घर बनाएर आज (बुधबार) हस्तान्तरण गरेका हुन ।
वडाध्यक्ष नबिन बरालले स्थानीयबासी र वडाका अन्य जनप्रतिनिधिहरुको रोहबरमा लामिछानेको परिवारलाई घरको साँचो प्रदान गरेर घर हस्तान्तरण गरे । बरालले पीढित लामिछानेको परिवारमा रहेका अन्य सदस्यहरु समेत शारिरिक रुपमा अशक्त रहेकाले सहाराबिहिनताको महसुस गर्न नपरोस भन्ने उद्धेश्यले नगरपालिकाको कोही एक्लो छैन भन्ने अभियानलाई सार्थक बनाउन आफूहरुले सो घर निर्माण गरिदिएको बताए । लामिछाने परिवारको आफनै स्वामित्वमा रहेको करिब १०÷११ धुर जमिनमा जनप्रतिनिधिहरुको ४ लाख १५ हजार रुपैयाँको लागतमा घर निर्माण सामग्री जुटाएको र निर्माण व्यवसायी सुमन काफलेले ६५ हजार भन्दा बढी मुल्य बराबरको प्राविधिक ( मिस्त्री) खर्च उपलब्ध गराएपछि २० दिनमा नै घर निर्माण सम्पन्न गरिएको वडा सदस्य सुकदेव लुइँटेलले जानकारी दिए । घर हस्तान्तरण गर्न आयोजित सक्षिंप्त कार्यक्रममा वडाध्यक्ष बराल, नगर कार्यपालिका सदस्य खडग बहादुर धिमाल, वडा सदस्य लुइँटेल, महिला वडा सदस्य तनकुमारी दाहाल , दलित महिला सदस्य राधिका ठटाल र वडा नं ३ का वडा सचिव सन्दिप सुवेदी लगायत स्थानीयहरुको उपस्थिति थियो ।
लामिछाने परिवारको यस्तो दर्दनाक पीडा
पाँचथर पुख्र्यौली घर भएका लामिछानेको परिवार करिब ४० बर्षदेखि दमकमा बसोबास गर्दै आएको छ । पाँचथरबाट अनारमनीको बुट्टाबारीमा बसाइँ सरी आएका थियो त्यो परिवार ।

९४ बर्षीया धनमायाको विगत कोटयाउँदा मन भक्कानिन्छ । घर मुली अर्थात पति भीम नारायण ससाना छोराछोरी काखमा हुँदै वितेका हुन । तीन छोरा मध्ये जेठो छोरा अघन्धर हात खुट्टा लागेपछि नै घर छोडेर हिंडेका हुन । बुबाको निधन पछि दुखमा परेकी आमासहित भाई बैनीको भविष्यका लागि भनेर भारततिर पसेका अघन बहादुर अहिले सम्म घर फर्किएका छैनन । मर्यो, बाँच्यो कहाँ, छ छैन अहिले सम्म खुटखबर आएको छैन । देख्ने सुन्नेहरु पनि कोही छैनन ।
माइलो छोरा हरिकृष्णको ५/७ बर्ष अघिनै मृत्यु भयो । छोरो आफू भन्दा अघि लागेपछिको पीडा त धनमायालाई छदैछ कान्छो छोरा अभिचन्द्रको पनि शारिरिक अशक्तताले झनै पिरोल्छ धनमायालाई । जन्मिदैं शारिरिक रुपमा अशक्त कान्छो छोरा अभिचन्द्र अहिल आफन्तको शरणमा छन । माइली बुहारी इन्दिरा र शारिरिक रुपमा अशक्त एक छोरीका साथमा छिन धनमाया । छोरालाई कालले आफूभन्दा अघि लगाएपनि दुखसुखमा साथ दिने माइली बुहारी इन्दिरा छिन ।
शारिरिक रुपमा सबल तीन छोरी बिहे गरेर आआफनो घर गरि खाँदै त छन तर एउटी छोरीको शारिरिक अशक्तता धनमायाका लागि अर्को पीडाको बिषय छ । आर्थिक रुपमा शुरुमा थोर धेर भएको लामिछाने परिवारका धेरै जसो सदस्यहरु दीर्घरोग र शारिरिक अशक्तताले थलिएपछि अहिले परिवारको गुजारा चलाउनै हम्मे हम्मे छ । सरकारले दिने सामाजिक सुरक्षा भत्ताले ६ जनाको उनीहरुको परिवारको गुजारा चलाउनु पर्ने बाध्यता आफैंमा टिठ लाग्दो छ ।