दमक/ मजदुरका नाममा उद्योग खोलेर झुट्टा तथा नक्कली भ्याट बनाई राजस्व छलेको आरोपमा १० जना विरुद्ध अदालतमा मुद्धा दर्ता भएको छ । सर्लाहीका प्रदीप साहसहित १० जनाविरुद्ध ६५ करोड रुपैयाँभन्दा धेरै बिगो मागदाबी सहित अदालतमा मुद्दा दर्ता भएको हो ।
मजदुरका नाममा १३ वटा फर्म दर्ता गरेर नक्कली भ्याट बिल बनाइ राजस्व छली गरेको आरोपमा सर्लाहीको धनकौलका प्रदीप साहसहित १० जना विरुद्ध ६५ करोड २८ लाख ५२ हजार रुपैयाँ बिगो तथा जरिबाना माग गरेर उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।
प्रदीप साह सञ्चालक रहेको आरकेएम ट्रेडिङ प्रालीमा काम गर्ने निम्न आय भएका मजदुरको नाममा दर्ता गरेर १० जनाले २०७३ सालदेखि नक्कली भ्याट बिल बनाएको पाइएको विभागले जनाएको छ ।
उनीहरूविरुद्ध २२ करोड ४९ लाख भ्याट, ३७ करोड ५८ लाख आयकर र पाँच करोड २० लाख रुपैयाँ लाभांश छली गरेको आरोपसहित विभागले मुद्दा दायर गरेको छ ।