नविन बराल दमक ३ का निर्वाचित वडाध्यक्ष हुन । नगरका १० वटै वडाहरु मध्ये निर्वाचित हुने वडाध्यक्षहरुमा उनी सम्भवत उमेरका आधारमा सबैभन्दा कान्छा उम्मेदवार हुन भन्दा पनि फरक पर्दैन । उनलाई युवापुस्तामा आशलाग्दो जनप्रतिनिधिका रुपमा पनि लिइन्छ । प्रस्तुत छ वडाध्यक्ष बरालसंग निष्कर्ष न्यूजको स्थानीय तह स्तम्भका लागि गरिएको कुराकानीको निष्कर्ष –

जनप्रतिनिधि भएपछि वडामा विकासका काम कसरी भईरहेका छन् ?

यो वडा ग्रामिण क्षेत्रले भरिएको वडा हो । यस्तै भुटानी शरणार्थी शिविर पनि यहि वडामा पर्दछ । तसर्थ हामीले एकातर्फ ग्रामिण क्षेत्रमा चाहिने पूर्वाधार निर्माण, बजार व्यवस्थापन, गरिवी निवारण, रोजगारी अभिवृद्धी, कृषि र पशुपालनको प्रवद्र्धन लगायत सवै आवश्यकताहरुलाई सम्बोधन गर्ने प्रयास गरि रहेका छौं भने भुटानी शरणार्थीहरुलाई स्थानीयबासीसँगको सहकार्य गराउँदै विभिन्न आयमूलक काममा सहभागी गराई रहेका छौं । यस वडामा हाम्रो कार्यकालको आधा समय वित्दै गर्दा परिवर्तन देखिन थालेको छ । यो कुरा मैले भन्दा पनि वडाबासीहरुले पनि भनिरहनु भएको छ ।

संघ र प्रदेशका योजनाहरु कसरी अघि बढेका छन् ?

यस वडामा संघ र प्रदेश सरकारका पनि विभिन्न योजनाहरु चालु अवस्थामा छन् भने कतिपय पूरा भईसके । वृहत योजनाको रुपमा भन्नु पर्दा भ्युटावर निर्माण भई रहेको छ भने वुद्धमूर्तीसहितको पार्क बनाउने स्थानमा घेराबाराको कामपनि थालिएको छ । यस्तै ढुकुरपानीमा सिमसारको संरक्षणको काम पनि भईरहेको छ भने चुलाचुली ढुंगे सडक पनि निर्माणको क्रममा छ । भर्खरै दमककै दुर्गम क्षेत्रका रुपमा रहेको भस्मेमा युएनएचसीआरको सहयोगमा वडाका बालबालिकालाई लक्षित गरेर खोपकेन्द्रको भवन निर्माण भइसकेको छ । भर्खरै आधारभूत स्वास्थ्य सेवाबाट वडाबासी बञ्चित हुन नपरोस भन्ने उद्धेश्यले संघीय सकारबाट यस वडामा निर्माण गरिने आधारभुत स्वास्थ्य केन्द्रको भवन पनि शिलान्यास गरिएको छ । यि दुवै भवन निर्माणका लागि स्थानीयले नै निशुल्क जग्गा प्रदान गर्नुभएको छ ।

सुरक्षित आवास कार्यक्रम अन्तर्गत विपन्न परिवारका लागि घर बनाउने कार्यक्रम पनि संघिय सरकारबाट निरन्तर भइनै राखेको छ । यस्तै प्रदेश मार्फत चुलाचुली खेलमैदानको स्तरीकरण, घेराबारा लगायतको काम भएको छ भने रिङरोडमा २ किलोमिटर पिच पनि भएको छ । ठुला योजनाका रुपमा मोरङ जोड्ने स्थानमा संघीय सरकार मार्फत मावा खोलामा पुल बनेर प्रधानमन्त्रीले उद्घाटन पनि गरि सक्नु भएको छ । कृष्णमन्दिर ढुकुरपानी सडक बनेको छ । दातृसंस्थाहरु मार्फत ढुकुरपानी मावि र चुलाचुली आधारभूत विद्यालयमा नयाँ भवन बनेका छन् ।

संघ र प्रदेश मार्फत मावाखोला ढुंगै पैनीको काम पनि भएको छ । दुम्से खानेपानीमा ट्याङ्की निर्माण पनि भईरहेको छ । प्रदेशबाटै जामुने सिमसारको संरक्षणका लागि काम गरिएको छ । यस्ता अरु पनि धेरै योजनाहरु यस वडामा सञ्चालन गरिएका छन् भने वडा र नगरपालिकाको तर्फबाट पनि साना पूर्वाधार निर्माण, सिपविकास, खेलकुद क्षेत्रको विकासका लागि यसै वडामा नगरस्तरको खेलकुद मैदान निर्माण भइरहेको छ । यसलाई बृहत रुपमा विकास गरेर अन्तराष्ट्रियस्तरको रंगशाला नै बनाउने हो कि भन्ने बिषयमा माथिल्लो तहमा प्रस्ताव गरिरहेका छौं । गत बर्ष लागुऔषध विरुद्ध सचेतना, सामाजिक सशक्तिकरण, कृषि र पशुपालनमा सहयोग लगायतका विभिन्न कार्यहरु गरिएको थियो । यो बर्ष कोभिडका कारण कतिपय ठुलो समुहमा गरिने कार्यक्रमहरु अगाडी बढाइएको छैन । यसको अर्थ हामी कामनै नगरि बसेको चाहिं होइन विशेषत पूर्वाधार विकासका योजनाहरु हाम्रो वडामा धेरैनै चलिरहेका छन ।

यस वडामा अब प्राथमिकता दिनु पर्ने योजनाहरु केके छन् ?

गर्न त धेरै गर्नु पर्नेछ । कतिपय योजनाहरु हाम्रो श्रोत साधनले भ्याउँदैन । तर संघीय तथा प्रदेश सरकारबाट पनि केहि योजना अघि बढेका छन् । जस्तो कि, दुधेखोलामा झोलुङ्गे पुल निर्माणको प्रकृया अघि बढेको छ । बेलडाँगी बजारलाई व्यवस्थित बनाउन नगरपालिका र दातृसंस्था मार्फत कवल निर्माण गरिएको छ । अब त्यहाँ बजार व्यवस्थापन गर्न सके दमक बजारको चाप पनि घट्ने देखिन्छ । यस्तै गर्नै पर्ने काम मध्येमा हिमावि— ढुकुरपानी —महेशचोक सडकको काम संघीय सरकारबाटनै अघि बढेको छ । यो वडामा लामो समय भुटानी शरणार्थीहरुको बाक्लो बसोबास रहयो । अझै पनि केहि हुनुहुन्छ । उहाँहरुको इतिहासलाई संरक्षण गर्न एउटा संग्रालय बनाउने योजना पनि छ । त्यो पूरा भएमा विश्वका विभिन्न मुलुक पुग्नु भएका शरणार्थीहरुलाई नेपाल आउँदा पुग्नै पर्ने स्थानको रुपमा यसलाई स्थापित गर्न सकिने थियो । यिसँगै अरु कृषि, पशुपालन, रोजगारवृद्धी, साना पूर्वाधारहरु, खेलकुद र खेलमैदानको विकास लगायतका क्षेत्रमा पनि काम गर्नुपर्ने छ र ति हाम्रा प्राथमिकतामा पनि रहेका छन् ।

आफ्नो कार्यकालको करिव आधा अवधी कस्तो भए जस्तो लाग्छ ?

सकेसम्म वडाबासीको चाहना अनुसारनै काम गरिएको छ । सिमित श्रोत साधनका कारण कतिपय कामहरु चाहँदा चाहँदै पनि गर्न नसकिएको हुन्छ । ति कुरालाईहरु क्रमिक रुपमा पूरा गरिनेनै छ । समग्रमा भन्नु पर्दा वडामा विकासका कामहरु धेरै भएका छन् र अझै गर्न पनि धेरै बाँकी छ ।

Facebook Comments Box