बिराटनगर/ प्रदेश एक अन्तर्गत मोरङ र खोटाङमा दुई छुट्टाछुट्टै स्थानमा आज बिहान भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मोरङको कटहरी गाउँपालिका वडा नं ३ मा तेलको ट्याङकरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको हो ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार आज बिहान सवा ९ बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश १–०२–०४२ प ९५५९ नम्बरको मोटरसाईकललाई सोही दिशाबाट जाँदै गरेको ना ५ ख ८४३४ नम्बरको तेल बोक्ने ट्याङकरले पछाडीबाट ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक स्थानीय २१ बर्षीय रोहित साहको उपचारका क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको हो । त्यसैगरी खोटाङको रावाबेशी गाउँपालिका १ डुम्रेपानीमा आज बिहान साढे ३ बजे को ७ त ४७२७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरका सहचालक स्थानीय २६ बर्षीय राजन नेपालीको मृत्यु भएको हो । ट्याक्टरलाई सहचालकले चलाएर लैजाने क्रममा सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना भएको थियो । उनको आज बिहान साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

Facebook Comments Box