दमक/ झापाको कमल गाउँपालिका वडा नं ५ मा पर्ने टुकुरे बस्तीमा आज बिहान २ बजेदेखि जंगली हात्तीको बथाननै पसेको छ । बस्तीमा एक्कासी पाँच÷ छ वटा हात्तीको बथाननै पसेर त्यहाँका करिब आधा दर्जन ( ५ /६ वटा) घर भत्काएको हो ।
सर्वसाधारणहरुले भागेर ज्यान बचाएका छन । कमल ५ का वडाध्यक्ष डम्बर निरौलाका अनुसार एक्कासी उत्तरी चुरे क्षेत्रबाट प्रवेश गरेको हात्तीको समुहले एकाएक घर भत्काएपछि त्यहाँ भागाभाग मच्चाएको हो । त्यहाँ कसकसाको घर हात्तीले भत्काएको हो भन्ने बारे विस्तृत विवरण प्राप्त भइसकेको छैन । सर्वसाधारणले हात्तीका कारण मध्यरातीदेखि नै बस्न नसकिने अवस्था भएको बताउँदै प्रहरीमा खबर गरेपछि अहिले त्यहाँ ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । त्यहाँ दमकबाट गएको जनपथ प्रहरी र लखनपुरस्थित सशस्त्र प्रहरीको टोली हात्ती धपाउने कार्यमा संयुक्त रुपमा खटिएको हो ।
प्रहरीले एकसाथ ३/४ वटा सम्म गाडीको साइरन बजाएर हात्ती धपाउन खोजेपनि हात्तीको समुह मानववस्ती नजिकबाट भाग्न नखोजेकाले सर्वसाधारणहरु घरमा बस्न सकेका छैनन । कठयाङग्रिदो जाडोमा त्यहाँका बालबालिका र बृद्धबृद्धाहरु कष्टपूर्ण रुपमा त्रासमा बस्नु परिरहेको छ ।