दमक/ दमकमा जनता समाजवादी पार्टीले आज शनिबार साँझ मसाल जुलुश प्रदर्शन गर्ने सिलसिलामा प्रहरीसंग घम्साघम्सी भएको छ । जुलुस प्रदर्शनका क्रममा सुरक्षाकर्मीले आफूहरुमाथि गरेको हस्तक्षेप गर्न खोजेपनि प्रदर्शन गरिएको सो पार्टीका जिल्ला समन्वय परिषद अध्यक्ष दिपेनवाला राईले जानकारी दिए । उनले प्रहरीसंगको झडपमा पाँच कार्यकर्ता घाइते भएका बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद् विघटन गरेको विरोधमा सो पार्टीले जुलुस प्रदर्शन गरेको हो ।
सुरक्षाकर्मीले राँके प्रदर्शन रोक्न खोज्दा दुवै पक्षबीच झडप भएको बताइएको छ । त्यस्तै प्रहरीतर्फ प्रहरी सहायक निरीक्षक र प्रहरी जवान सामान्य घाइते भएका बताइएको छ । पार्टी कार्यालयबाट निकालिएको राँके जुलुसलाई सशस्त्र र नेपाल प्रहरीले रोक्न खोज्दा केही मिनेटमै दुवै पक्षबीच घम्साघम्सीको अवस्था भएको थियो ।