दमक/ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई समुहको केन्द्रिय कमिटी बैठक भोली (मंगलबार) अलग अलग समयमा बोलाइएको छ ।
अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले केन्द्रीय कमिटीको बैठक मंगलबार बिहान ९ बजे बालुवाटारमा बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाएका छन । यसअघि आइतबार ओली पक्ष सहभागि नभएको अध्यक्ष पुुष्पकमल दाहाल– वरिष्ठ नेता माधबकुमार नेपाल, झलनाथ खनाल समुहको स्थायी कमिटीको बैठकले मंगलबार दिउँसो १ बजेका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको थियो ।
पुष्पकमल दाहालको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरिसकेको छ ।
दाहाल–नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटी बैठक अगावै प्रधानमन्त्री ओलीले केन्द्रीय कमिटी बैठक बोलाएका हुन ।
यसैबीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले संसद् बैठक बोलाउन माग गर्ने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेर वैशाख १७ र २७ गते चुनावको लागि स्वीकृति दिए पनि यो कदम गैर–संवैधानिक भएको भन्दै प्रचण्ड–नेपाल समूहले संसद् बैठक बोलाउन माग गर्ने निर्णय गरेको हो ।
सोमबार संसद् भवन नयाँ बानेश्वरमा भएको दुई पक्षको सांसदहरूको भेलाले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको कदम राष्ट्रघाती भएको उल्लेख गर्दै तत्काल संसद्को अधिवेशन बोलाउन माग गर्ने निर्णय गरेको हो ।
बैठकले संविधानबमोजिम संसद् बैठक बोलाउने समय भइसकेकोले संसद् अधिवेशन बोलाउन माग गरेको नेकपाका प्रमुख सचेतक देव गुरुङले बताए । उनले भने, ‘नेपालको संविधानमा भएको प्रतिनिधि सभा विघटन गर्न नसकिने स्पष्ट व्यवस्थाको विपरीत प्रधानमन्त्रीले जनमतको अपमान हुने तथा देशलाई अनिश्चयको भूमरीतर्फ धकेल्ने गरी गरेको प्रतिनिधि सभाको विघटन प्रस्ताव र त्यसलाई सिफारिस गर्दा संविधानको संरक्षण गर्नुपर्ने संवैधानिक कर्तव्य भएका राष्ट्रपतिसमेत त्यसतर्फ कुनै संवेदनशील नरहेको प्रति यो संसदीय दल विरोध गर्दछ र उहाँको कार्यलाई अस्वीकार गर्दछ । संविधान बमोजिम संसद्को अधिवेशन बोलाउनुपर्ने समय भइसकेकोले संसद्को अधिवेशन अविलम्ब आह्वान गर्न यो बैठक माग गर्दछ ।’
संसद् बैठक माग गर्दै प्रतिनिधि सभाका ९० जना र राष्ट्रिय सभाका २४ जना सांसदले हस्ताक्षर पनि गरेका छन् ।