दमक/सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले आज ( आइतबार) भएको संसद विघटन अलोकतान्त्रिक र असंबैधानिक भएको संयुक्त निष्कर्ष निकालेका छन । ति दलले संयुक्त रुपमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको सो कमदको प्रतिवाद गर्ने सहमति पनि गरेका छन् ।
नेकपाको पहलमा कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको तीन दलका नेताहरुको बैठकले त्यस्तो निष्कर्ष निकालेको हो ।
बैठकमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र देव गुरुङ थिए भने कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रमुख सचेतक बालकृष्ण खाँड र मिनेन्द्र रिजाल तथा जसपाका डा. बाबुराम भट्टराई र राजेन्द्र महतो थिए ।
नेकपा प्रवक्ता श्रेष्ठले भने ‘भोलि फेरि बैठक बस्ने सहमति भएको छ ।’
त्यसअघि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो ।
पार्टीको स्थायी कमिटी बैठकले यो प्रस्ताव पर्सि ७ गते बोलाइएको केन्द्रीय कमिटीको बैठकमा पेश गर्ने निर्णय गरेको हो । पार्टी अध्यक्ष ओलीले पार्टी अनुशासन उल्लंघन गरेको ठहर गर्दै स्थायी कमिटी बैठकले अनुशासनको कारबाहीका लागि केन्द्रीय कमिटीमा सिफारिस गर्ने निर्णय गरेको जनाइएको छ । पुष ७ गते केन्द्रीय कमिटीको आकस्मिक बैठक बोलाइएको छ । त्यसैगरी भोलि सोमबार दिउँसो १ बजे नयाँ बानेश्वर नेकपा संसदीय दलको बैठक बोलाउने निर्णय भएको छ ।