दमक/ नेकपाका शीर्ष नेताहरु पार्टी भित्रको चरम विवादका कारण दौडधुपमा लागेका छन । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली शनिबार (आज) बिहान निक्कै दौडधुप गर्दै शीर्ष नेताहरुसंगको भेटघाट र कुराकानीमा व्यस्त रहे । पहिलो पटक पार्टीका अध्यक्ष पुष्पकमल दाहाललाई भेटन ओली आफैं दाहाल निवास खुमलटार मात्रै गएनन । आफनै मन्त्रीमण्डलका अर्का शक्तिशाली मानिने गृहमन्त्री राम बहादुर थापा बादललाई समेत भेटन ओली थापा निवास पुल्चोक पुगेका छन । प्रधानमन्त्रीलाई भेटन मन्त्रीहरु धाउनुपर्नेमा मन्त्री भेटन प्रधानमन्त्री स्वयं मन्त्री निवास पुगेबाट पनि ओली पार्टीभित्रको चर्को दबाबमा परेको अनुमान लगाउन सकिन्छ । गृहमन्त्री बादल पूर्व माओवादी केन्द्रका नेता पनि हुन । उनी यस अघि पार्टी अध्यक्ष दाहाल निकट मानिएपनि पछिल्लो समय अर्का अध्यक्ष ओलीसंग निकटता बढेको नेकपा वृत्तमा चर्चा छ ।
त्यस अघि दाहालसंगको भेटमा ओलीले आफूविरुद्धको आरोपपत्र फिर्ता लिन आग्रह गरेपछि उनको आग्रहलाई दाहालले अस्विकार गरिदिएका थिए । दाहालको उक्त अडानले ओली निक्कै दबाबमा परेकका विश्लेषण गर्न सकिन्छ । दाहालसंगको भेटवार्ता चलिरहेका बेला उपाध्यक्ष वामदेव गौतम पनि खुमलटार पुगेका थिए ।
आजको दाहालसंगको भेटमा ओली एक्लै गएका भएपनि पुल्चोकमा गृहमन्त्री बादलसंगको भेटमा भने प्रधानमन्त्री ओलीसहित स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, भौतिक पूर्वाधारमन्त्री बसन्त नेम्वाङ, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल र कानुनमन्त्री शिवमायाँ तुम्बाहाम्फे पनि सहभागी भएका बताइएको छ । अध्यक्ष दाहाल र वरिष्ठ नेता माधव कुमार नेपाल समूहले प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद छाड्न प्रधानमन्त्री ओलीलाई निरन्तर दबाब दिइरहेका छन् । उनीहरुले पार्टी र सरकार दुवैमा ओली एक्लौटी र स्वैच्छाचारी ढंगबाट चलेको आरोप लगाउँदै आएका छन ।
दुवै पक्षले आ–आफ्नो समूहको छुट्टाछुट्टै भेला राख्न थालिसकेका छन् । पछिल्लो पटक संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएसँगै नेकपाको विवाद थप बढेको छ । नेकपाले पुष ५ गते स्थायी कमिटी र पौष १० गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।