दमक/ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न आज ( शनिबार) बिहान खुमलटार जाँदैछन । ओली अकस्मात अहिले १० बजे प्रचण्ड निवास खुमलटार जाने तयारीमा रहेका नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए । पार्टीमा विवाद बढेका बेला ओली प्रचण्डलाई भेट्न खुमलटार जान लाग्नुलाई निक्कै अर्थपूर्ण रुपमा हेरिएको छ ।
हिजो शुक्रबार मात्रै पनि पार्टीभित्रको विवादका बिषयलाई लिएर दुई अध्यक्षबीच कुराकानी भएपनि आज फेरी ओली प्रचण्डलाई भेटन जानुका पछाडीको रहस्य थाहा हुन सकेको छैन । प्रचण्ड, माधबकुमार नेपाल र झनाथ खनालले एकढिक्का भएर ओलीलाई पार्टी र सरकारमा रहेको एकल दबदबा हटाउन दबाबमुलक कार्यक्रमहरु देशव्यापी रुपमा सञ्चालन गर्दै दबाब दिएपछि प्रधानमन्त्री ओली लचक बन्ने संकेत देखिएको हो । हिजो मात्रै प्रधानमन्त्री ओलीको गृह जिल्ला झापामै पुष्पलाल मित्रता केन्द्रको नाममा पार्टी भित्रको सो समुहले बृहत जिल्ला भेला आयोजना गर्यो भने सो समुहका प्रदेश १ का १४ वटै जिल्लाका पार्टी अध्यक्ष र सचिवहरुसंग पेरिसडाँडामा अन्तरक्रिया गरेको थियो । सो अन्तरक्रियामा प्रचण्ड, नेपाल खनालले नै सम्बोधन गरेका थिए ।
सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विषयमा पछिल्लो पटक नेकपाभित्र विवाद छ । यसअघि बुधबार बसेको नेकपा स्थायी कमिटीको बैठकले मङ्गलबार जारी भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तथा सङ्घीय संसद्को विशेष अधिवेशनको माग राखेर पार्टीका सांसदले राष्ट्रपतिसमक्ष दिएको आवेदन दुवै फिर्ता लिने निर्णय गरेको थियो । पार्टीको स्थायी कमिटीको बैठक भोली ( आइतबार) पनि बस्ने तयारी भइरहेको बेला ओलीले प्रचण्डसंग गर्ने कुराकानीलाई महत्वका साथ हेरिएको छ । उनले के कुरा गर्ने हुन ? भन्ने चासो नेकपा कार्यकर्ताहरुमाझ उब्जिएको छ ।