दमक/ दमक नगरपालिकाले उपभोक्ता अधिकारको रक्षा र बजार व्यवस्थापनका लागि लगातार बजार अनुगमन गरेको छ ।
दमक नगरपालिका बजार अनुगमन समितिका संयोजक भिमप्रसाद पौडेलको नेतृत्वमा कर्मचारी, प्राविधिक तथा उपभोक्ता अधिकारकर्मी सहितको टोलीले बजार अनुगमन गरेको हो । टोलीले दमकका केहि पेट्रोल पम्प, मासु पसल, खाद्य तथा किराना पसल, दुग्ध व्यवसाय, होटल लगायतमा अनुमगन गरेको थियो । अनुगमनका क्रमका केहि पसलमा खाद्यमिति गुज्रीएका बस्तु पनि भेटिएको र तत्कालै नष्ट गराईएको संयोजक पौडेलले बताए । यस्तै पेट्रोलपम्पहरुमा गरिएको अनुगमनका क्रममा मात्रात्मक ठगी नदेखिएको भए पनि मिसावटको अवस्थाका बारेमा भने प्रयोगशाला परीक्षण जरुरी रहेको उपभोक्ता हित संरक्षण मञ्चकी केन्द्रिय उपाध्यक्ष सुवर्णप्रभा गुरागाँईले जानकारी दिइन ।

केहि होटलहरुमा भने भान्साकोठा फोहर भेटिएकाले सरसफाईमा ध्यान दिन टोलीले आग्रह गरेको छ । अनुगमनमा नगरपालिकाका विज्ञ, कर्मचारी सहित उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय उपाध्यक्ष गुरागाँई सहित केन्द्रिय सदस्य मेघराज श्रेष्ठ, प्रदेश उपाध्यक्ष एवम् दमक अध्यक्ष डा. नविन चापागाँई लगायतको सहभागीता रहेको थियो । यस्तै मञ्चको टोलीले नगरपालिका परिसरमानै उपभोक्ता सचेतना कार्यक्रम समेत सञ्चालन गरेको थियो । जसमा केन्द्रिय उपाध्यक्ष गुरागाँई, दमक कोषाध्यक्ष सुमित्रा वाङ्देल लगायतले उपभोक्ता शिक्षाका बारेमा सर्वसाधारणलाई जानकारी गराउन भएको थियो
बजार अनुगमन अघि मञ्च एवम् नगरपालिकाको आयोजनामा उपभोक्ता अधिकार बारे कानून निर्माण, बजार व्यवस्थापन, खाद्यस्वच्छता विषयमा अन्तरक्रिया समेत भएको थियो । नगरपालिकाका प्रमुख रोमनाथ ओलीले उपभोक्ता अधिकारको रक्षा र बजार व्यवस्थापनका लागि नगरपालिका नयाँ ऐन ल्याउन समेत तयार रहेको बताए । कुनै पनि बहाना र कारणले बजारमा ठगी हुने अवस्था सिर्जना हुन नदिईने उनको प्रतिबद्धता छ ।
