दमक/प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार सर्वसत्तावाद र निरंकुशता तर्फ अघि बढेको थप प्रमाणका रुपमा संबैधानिक परिषद सम्बन्धि अध्यादेशलाई लिन सकिने टिप्पणी गरेका छन ।


सरकारले आज ( मंगलबार) संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेपछि ट्वीट गर्दै नेता पौडेलले त्यस्तो टिप्पणी सार्वजनिक गरेका हुन । उनले आफनो धारणा राख्दै लेखेका छन–संबैधानिक परिषदको मुल मर्म बिपरित संबैधानिक निकायमा आफु अनुकुलका मानिस भर्ने कुत्सित नियतका साथ संसद अधिवेशनलाई छल्नका लागि हतार हतारमा संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गर्नु सर्वसत्तावाद र निरकुंशता तर्फ सरकार अगाडि बढेको थप प्रमाण हो । त्यसैगरी कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पनि संवैधानिक परिषद् सम्बन्धी अध्यादेश तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् । नेता कोइरालाले सरकारले संविधानको मर्म र भावना विपरीत ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश तरुन्तै खारेज गर्न माग गरेका हुन् ।
उनले अध्यादेश जारी गर्नुलाई अधिनायकवादको सिंढीको संज्ञा पनि दिएका छन् । संविधानको मर्म र भावना विपरीत ल्याइएको ‘संवैधानिक परिषद् सम्बन्धी अध्यादेश’ तुरुन्तै खारेज गरियोस् । यो अध्यादेश हामीले भन्दै आएको अधिनायकवादको सिंढी हो,’ कोइरालाले भनेका छन् ।
यसअघि मंगलबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । सरकारको सिफारिस लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसो नै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेकी थिइन् ।

Facebook Comments Box