पर्शुराम रिजाल
नेपालको लोकतान्त्रिक आन्दोलनमा नेपाली कांग्रेसको स्थान सधैं पहिलो नम्बरमा आउने गर्दछ । लोकतान्त्रिक मुल्य र मान्यताका बिषयमा नेपालमा नेपाली कांग्रेसले आफ्नो सांगठनिक विस्तार र लोकतन्त्रको लडाई मात्र लडनु परेन, विश्व कम्यूनिष्ट आन्दोलनको बाछिटाहरुको समेत सामना गर्नुपर्यो ।
२००७ सालको प्रजातन्त्र प्राप्तिपछि पनि पटक पटकका राजनीतिक हस्तक्षेप व्यहोर्दै र पटक पटकका राजनीतिक परिवर्तनका आन्दोलनहरुको नेतृत्व गर्दै मुलुकमा पुनः प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रसम्मको लामो राजनीतिक आरोह अवरोह पार गर्दै वर्तमान अवस्थामा आईपुग्दा नेपाली कांग्रेसले राजा, कम्युनिष्ट र आफ्नै दलभित्र पनि आन्तरिक संघर्ष गर्नुपरेको इतिहास ऐना जस्तै छर्लंग छ ।
इतिहासको कालखण्डमा नेपाली राजनीतिको अत्यन्तै महत्वपूर्ण राजनीतिक नेतृत्वमा रहेको नेपाली कांग्रेस वर्तमानमा अत्यन्तै कमजोर, शिथिल र सुशुप्त अवस्थामा आईपुगेको छ । आफ्नो गुमेको शाख पुनः स्थापित गराउँदै नेपाली कांग्रेसलाई पुनः पहिलो नम्बरको दलको रुपमा स्थापित गराउँदै लोकतन्त्रको सवलीकरणका लागि नेपाली कांग्रेस पार्टीलाई सांगठनिक, बैचारिक र सिद्धान्तका हिसाबमा सक्षम दलको रुपमा एकाकार गर्नु नै नेपाली कांग्रेसको चौधौं महाधिवेशनको मुख्य उद्धेष्य हो ।
अहिले नेपालमा नेकपाको स्पष्ट बहुमत प्राप्त सरकार छ तर त्यसलाई केपी शर्मा ओलीले नेतृत्व गरिरहेका कारण र राजनीतिलाई भ्रष्टिकरणको दिशामा अगाडि बढाएका कारण नेपालको राजनीतिक इतिहासमा इमान्दारिता र विश्वासको नैतिक धरातल कमजोर बन्दै गइरहेको छ । यस्तो विषम परिस्थितिमा पहिला झै अहिले पनि नेपालको लोकतन्त्र माथिको खतरालाई नेपाली कांग्रेसको सांगठनिक तागतमा विश्वेश्वरप्रसाद कोईरालाको प्रजातान्त्रिक समाजवादको जगमा उभिएर देश, काल परिस्थिति र वर्तमानको समयानुकुल नेतृत्व गर्नसक्ने दर्बिलो नेतृत्व स्थापित गर्नु हामी तमाम नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको नैतिक दायित्व पनि हो ।
आजको राष्ट्रिय समस्या समाधान गर्नेतर्फ वर्तमान ओली सरकार पूर्णतः असफल भएको बेलामा शिक्षा, स्वास्थ्य, रोजगार, श्रमिकको दिगो जीविकोपार्जनका लागि योगदान गर्न सक्ने नेतृत्व बिकास गरी आम नेपाली नागरिकले अनुभूति गर्न सक्ने, आम नागरिकले आशा र भरोसा गर्न सक्ने रुपान्तरित कांग्रेस बनाउने मेरो चाहना हो । यसका लागि व्यक्ति मात्र हैन सिंगो नेपाली कांग्रेस नै परिवर्तित हुन जरुरी छ । जसले नेपाली कांग्रेसको घटदो छबिलाई पुरानै उचाईमा पुर्याउन सकोस् ।
दमकमा अग्रज राजनीतिक नेतृत्वको सम्मान गर्दै युवा जोश र चाहनालाई सम्बोधन गर्दै पार्टी भित्रको सम्पूर्ण अविश्वासलाई विश्वासमा रुपान्तरण गर्दै मैंले नेपाली कांग्रसको दमक नगर सभापतिको उम्मेद्धारी दिने आधारहरु तय गरेको छु ।
नेपाली कांग्रेसलाई सांगठनिक र भावनात्मक रुपमा एक ढिक्का बनाउने
नेपाली कांग्रेसलाई पूर्णतया बिधान अनुसार सञ्चालन गर्ने वडा तथा टोल स्तरसम्म
पार्टीको आन्तरिक अभिलेखिकरणको कार्यलाई निरन्तर सञचालन गर्ने र आगामी निर्वाचन सम्ममा दमकमा आफ्नो पार्टीका क्रियाशील, साधारण सदस्यहरु लगायत नेपाली विवरणलाई कम्पयूटराईज गरि अद्याबधिक गर्दै जाने ।
– पार्टी प्रशिक्षणको कार्यलाई बार्षिक कार्ययोजना बनाई नगर, वडा र गाउँटोलसम्म नियमित रुपमा सञ्चालन गर्ने वाताबरण मिलाउने ।
–नेपाली कांग्रेस दमकको संगठन बिस्तार गर्ने र त्यहि संगठनको बलमा स्थानीय तह र अन्य निर्वाचनहरुमा बिजय हासिल गरी दमक र दमकबासी नागरिकहरको मुहार फेर्ने ।
–सबैखाले भ्रष्टाचार, ढिलासुस्ती, नातावाद, कृपावादको अन्त्य गर्दै महंगो कर प्रणालीबाट दमक नगरबासीलाई पूर्णरुपमा मुक्ति दिलाउन पहल गर्ने ।
अहिले नेपाली कांग्रेस पार्टी विधि, विधान र जवाफदेहिताबाट चलेको छैन । अनावश्यक रुपमा कार्यकर्ताहरुलाई विभिन्न गुटमा विभाजन गरी आपसी रुपमै एक अर्कामा लडाउने र पार्टी भित्रै बैमनष्यता पैदा गराउने काममा स्वयं नेतृत्वपंतिm नै लागेको छ ।
यसको दीर्घकालिन उपचार भनेकै महाधिवेशनबाट पार्टीका विभिन्न तहमा सक्षम नेतृत्व आउन जरुरी छ । सबैभन्दा पहिला आफ्नो घर(पार्टी) लाई मजबुत र अनुशासित बनाउँदै नागरिकको अपेक्षा पुरा गर्दै अगाडि बढनु र बिकास निर्माण, शान्ति शुरक्षा र सुशासन कायम गर्न आफ्नो गौरवशाली इतिहासको रक्षा गर्दै समाजलाई अगाडि बढाउने जिम्मेबारी नेपाली कांग्रेसले नै बहन गर्नुपर्ने हुन्छ ।
वर्तमान अवस्थामा अनावश्यक रुपमा नेता तथा कार्यकर्ताहरुलाई विभिन्न गुट र उपगुटमा विभाजन गर्नु अत्यन्तै लज्जास्पद हो । पार्टीका ईमान्दार र निष्ठावान नेता तथा कार्यकर्ताहरुलाई पाखा लगाउँदै आफ्ना आसेपासेलाई काखी च्याप्ने प्रबृत्तिले नेपाली कांग्रेस अत्यन्तै नराम्ररी ग्रसित भएको छ, यसैको कारण पनि बेला बेलामा नेपालका राजनीतिक दलहरु मात्र हैन सिंगो ब्यवस्था नै पो बेठिक हो कि ? भनेर नागरिकहरुमा बितृष्णा र नकारात्मक सवालहरु पनि उठने गरेका छन् । जुन लोकतान्त्रिक व्यवस्थाको भावना र मर्म बिपरित छ । यसका लागि नागरिकमा आशाका किरणहरु जगाउँदै आगामी चौधौ महाधिबेशनबाट यस्ता प्रबृत्तिलाई किनारा लगाउँदै एकताबद्ध बनाएर लैजान सक्ने नेतृत्व आउनु आवश्यक छ ।
यसो भनिरहँदा मैले यतिबेला मेरो लागि पदको कुनै चिन्ता गरिरहेको छैन । म पदमा रहँदा या नरहँदा मलाई कुनै फरक पनि पर्दैन । मेरो सवाल दमक कांग्रेसलाई कसरी मजबुत बनाएर लैजाने भन्ने कुरामा छ । अग्रजहरुलाई सम्मान गर्दै युवा साथीहरुको साथ लिएर कसरी संगठन निर्माण गर्ने ? भन्ने कुरामा छ । दमक कांग्रेसलाई कसरी शक्तिशाली र मजबुत बनाउने भन्नेमा छ ।
नेकपाको दबदबा र नेतृत्वको लापर्बाहीका कारण सुस्ताएको कांग्रेसलाई कसरी हराभरा बनाउने ? कसरी दमकमा नेपाली कांग्रेसलाई दमक नगरपालिकामा नेतृत्वदायी भूमिकामा आसिन गराउने ? स्थानीय निर्वाचनमा कसरी मेयर, उपमेयर लगायत वडाहरुमा आफ्नो दलको बिजयी झण्डा फहराउने ? जन प्रतिनिधिका रुपमा जनताको सेवकको रुपमा काम गर्दै कसरी जनताका पीरमार्कामा सहयोगी भूमिका निर्वाह गर्न सकिन्छ भन्ने कुरामा छ ।
मेरो चिन्ता दमकमा पार्टीको नगर सभापति बन्ने हैन र छैन । म भन्दा योग्य, पार्टी संगठनमा अत्यन्तै अनुभवी, क्षमतावान र निस्वार्थ भावनाले पार्टी संगठनमा काम गरिरहनु भएका थुप्रै साथीहरु हुनुहुन्छ । भोली पार्टीले कसैलाई पनि सभापतिको जिम्मेबारी बहन गर्ने अवसर दिन सक्छ । म सभापति बन्न पनि सक्छु नबन्न पनि सक्छु, यसमा मलाई कुनै ठूलो चिन्ता पनि छैन । तर मेरो चिन्ता त दमक कांग्रेसलाई कसरी मजबुत गराउने भन्नेमा छ ।
दमक नगर क्षेत्रभित्र बसोबास गर्ने नेपाली कांग्रेसका कार्यकर्ताहरुको आत्मबल कसरी बढाउने ? कसरी नेपाली कांग्रेसलाई निर्वाचनमा बिजयको अबिर पहिर्याउँदै नगर पालिकामा आफ्ना दलका नेताहरुलाई पुर्याउने भन्नेमा छ । यसका लागि सबैले तेरो मेरो भन्ने भावनाबाट माथि उठेर हामी नेपाली कांग्रेस र हाम्रो नेपाली कांग्रेस भन्ने भावनाको बिकास गराउनुमा छ ।
दमकका नेपाली कांग्रेसका धेरै साथीहरुको भावना र चाहनालाई पनि मैले नजिकैबाट अध्ययन र विश्लेषण गरिरहेको छु । पार्टीभित्र देखिएका आन्तरिक बिबादका कुराहरुलाई पनि सुक्ष्म रुपले अध्ययन गरिरहेको छु । पार्टीलाई कसरी अगाडि बढाएर लैजाने भन्ने बिषयमा, योजना निर्माण र कार्ययोजनाका बिषयमा समेत अध्ययन गरिरहेको छु ।
नेकपाको दबदबाबाट दमकबासीलाई कसरी छुटकारा गराउने भन्ने बिषयमा अत्यन्तै गम्भिर भएर सोचिरहेको छु । नागरिकलाई परिरहेका विविध समस्याहरुमा नेपाली कांग्रेस दमक कसरी सहयोगी बन्न सक्छ ? भन्ने कुराहरुले पनि मलाई सताई रहेको छ र यस बिषयमा समेत गम्भिरताका साथ सोचिरहेको छु ।
नेपाली कांग्रेस दमकले हिजोका दिनमा कसरी आफ्नो राजनीतिक गतिबिधिहरु सञ्चालन गरेको थियो ? भनेर अग्रजहरुका काम र योगदानको बिषयमा पनि अध्ययन गरिरहेको छु । अग्रजहरुको योगदान र उनीहरुको समर्पणलाई सम्झिरहेको छु । अनि सोचिरहेको छु, आगामी दिनमा हामीले नेतृत्व गरेको नेपाली कांग्रेसलाई कसरी र कस्तो हालतमा आउने पुस्तामा हस्तान्तरण गर्ने होला ? भन्ने बिषयमा सोचिरहेको छु । म भन्छु ब्यक्तिगत स्वार्थ, गुटगत पुर्वाग्रह र कुनै नेता प्रति व्यक्तिगत द्वेष र ईष्र्या छैन । कसैको अनावश्यक चाकडी र आलोचना दुवै नगरौं ।
सिंगो पार्टीको संरचना परिवर्तनसहित सांगठनिक एकता र नीतिगत सजगताका साथ नेपाली कांग्रेसलाई अगाडी बढाउनुको विकल्प छैन । नेपाली काङग्रेले तत्काल सदन बोलाउन दवाव सृजना गर्दै जनताको भावना लिएर सडकबाट रचनात्मक रुपमा आवाज बुलन्द गर्नु पर्छ ।
जय लोकतन्त्र, जय नेपाल  (लेखक रिजाल नेविसंघ झापाका पूर्व सभापति तथा पार्टीको शिक्षा विभागका जिल्ला सदस्य हुन ।

Facebook Comments Box