दमक/ झापाको कमल गाउँपालिका २ की अस्मिता न्यौपाने र मेचीनगर ७ काँकरभिट्टाका मनोज मैनालीबीचको बैबाहिक कार्यक्रममा हुने खर्च कटौती गर्दै एक सामाजिक संस्थालाई २६ हजार रुपैयाँ नगद सहयोग गरेका छन । अस्मिताले आफू आवद्ध संस्था बोलोचोक विकास समितिका गतिबिधिहरुमा सहयोग पुरयाउने उद्धेश्यले विवाहको फजुल खर्च कटौती गर्दै सो संस्थामा आर्थिक सहयोग गरेकी हुन ।
बोलोचोक विकास समितिद्धारा सामाजिक सञ्जाल फेसबुक मार्फत सञ्चालन हुँदै आएको लाईभ कार्यक्रम संञ्चालिका न्यौपानेले सामाजिक रीतिरिवाजमा हुने खर्च सामाजिक काममा लगाउन सो सहयोग रकम प्रदान गरेकी हुन । उनले अहिले विश्व नै कोभिड–१९ अर्थात् कोरोना भाइरसको महामारीमा भएकाले यस्तोबेला फजुल खर्च नभई गरिब, असाहय, विपन्न साथै सामाजिक कार्यमा राहत तथा सहयोग चाहिएको बताउँदै उनले अनावश्यक खर्चभन्दा उपलब्धि हुने गरी खर्च गर्नुपर्ने बताईन् ।
बोलोचौक विकास समितिका अध्यक्ष डाक्टर धर्मेन्द्र कुमार साहले यस्ता सहयोगले सामाजिक कार्यमा लाग्न थप हौसला मिलेको बताउँदै नव विवाहित दम्पतीलाई शुभकामना दिएका छन । कमल गाउँपालीका २ निजी निवासबाटै भएको विवाहमा संस्थाको तर्फबाट संस्थाकी सदस्य सिता कुमारी लामिछानेको उपस्थिति रहेको थियो ।