दमक/ उपभोक्ता अधिकारका बिषयमा सरोकारवालाहरुबीच आज झापाको दमकमा सरोकारवालाहरुबीच अन्तरक्रिया सम्पन्न भएको छ । अन्तरक्रियामा उपभोक्ता अधिकारको रक्षा र बजार व्यवस्थापनमा स्थानीय तहको प्रमु्ख भुमिका रहने विज्ञ तथा जनप्रतिनिधीहरुले उल्लेख गरे ।
उपभोक्ता हित संरक्षण मञ्च केन्द्रिय समिति तथा दमक नगर समितिको व्यवस्थापनमा शुक्रबार दमकमा भएको अन्तरक्रियाका बक्ताले उपभोक्ता अधिकार सुनिश्चित गर्न प्रभावकारी कानूनको आवश्यकता रहेको पनि औंल्याए । कार्यक्रममा प्रमुख अतिथि दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले स्थानीय सरकार संवैधानिक अधिकारको उपयोग गर्दै आवश्यक कानूनहरु बनाउन तयार रहेको बताउनु भयो । तर कतिपय कानुन बनाउन संघ तथा प्रदेश सरकारबाट अविश्वास व्यक्त हुने भएकाले विश्वासको वातावरण बन्न जरुरी रहेको धारणा राख्नु भयो ।
कार्यक्रममा मञ्चका केन्द्रिय अध्यक्ष ज्योती बानियाले कतिपय स्थानीय तहले बजार व्यवस्थापन र उपभोक्ता अधिकार रक्षाका लागि कानून बनाउन पनि नसकि रहेको बताउनु भयो । तर दमक नगरपालिकाले शुरुवाती समयमानै यस सम्वन्धमा कानून बनाएको तर यसमा पनि सुधारको आवश्यकता औंल्याउनु भयो ।
कार्यक्रमको अध्यक्षता गर्नु भएका मञ्चका प्रदेश १ उपाध्यक्ष एवम् दमक नगरसमिति अध्यक्ष डाक्टर नविन चापाँगाईले कार्यक्रमहरुलाई औपचारीक भन्दा पनि उपलव्धीपूर्ण बनाउनु पर्ने धारणा राख्नु भयो । यसका लागि हरेक औपचारीक कार्यक्रमहरुबाट साझा प्रतिवद्धता र धारणा आउन जरुरी रहेकोमा जोड समेत दिनुभयो ।
कार्यक्रममा दमक नगरपालिकाका वडाध्यक्ष एवम् अन्य जनप्रतिनिधीहरु, विभिन्न विषयगत कार्यालयका प्रमुख एवम् प्रतिनिधीहरुको पनि सहभागीता थियो । कार्यक्रममा ईलाका प्रशासन कार्यालय दमकका प्रमुख दिपक कोईरालाले सुरक्षित बजार र उपभोक्ता अधिकारको रक्षाका लागि उपभोक्ताहरु जागरुक हुनु पर्ने र यसका लागि राज्य एवम् समाजका सवै क्षेत्र पनि क्रियाशिल हुनु पर्ने बताए ।
कार्यक्रममा प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले उपभोक्ता अधिकारको रक्षाका लागि भएका कानूनको कार्यान्वयनमा प्रहरीले सधैं सहयोग गर्दै आएको बताए ।
द एशिया फाण्डेशनको सहयोगमा कार्यक्रमको आयोजना भएको हो । उपभोक्ता हित संरक्षण मञ्चले उपभोक्ता अधिकारको रक्षा, कानून निर्माणमा सहयोग, बहस, पैरवी लगायतका कार्य गर्दै आएको केन्द्रिय उपाध्यक्ष सुवर्णप्रभा गुरागाँईले बताए ।

Facebook Comments Box