दमक/राष्ट्रिय बिभूति तथा किरात धर्मका महागुरु फाल्गुनन्द लिङदेनको तस्वीर हिन्दु धार्मिक गतिविधिहरुमा अनाधिकृत रुपमा समावेश गरिदै आएको प्रति त्यस सम्बद्ध धार्मिक संस्थाहरुले आपत्ति जनाएका छन् ।
२०६२/०६३ सालको लोकतान्त्रिक आन्दोलनमार्फत देशले २०७२ साल असोज ३ गते धर्मनिरपेक्षतालाई अंगिकार गरेको वर्तमान अवस्थामा पछिल्ला केहिदिन यता काठमाडौंसहित देशैभरि हिन्दु धर्म तथा राजसंस्थाको पक्षमा जनप्रर्दशन हुदैआएको र त्यस्ता प्रदर्शनमा किरात धर्मका महागुरुको समेत तस्वीर समावेश गरि दुरुपयोग भएको भन्दै धार्मिक संस्थाले आपत्ति जनाएका हुन् ।
किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डकेन्द्रसिंह थेगिमले विज्ञप्ति निकालेर हाल मुलुकमा स्थापित संघीयता , लोकतान्त्रिक गणतन्त्र , धर्म निरपेक्षता र मुलुकको समृद्धि , शान्ति र अमनचयन नचाहने केही प्रतिक्रियाबादी अति हिन्दुबादी तत्वहरूले मुलुकलाई हिन्दुराष्ट्र कायम गर्न र धर्म निरपेक्षताको संबैधानिक ब्यबस्थालाई खारेज गर्न माग गर्दै सनातन संस्कृति समाज नेपाल, केन्द्रिय समितिले किरात धर्मदर्शनका पुर्नरुत्थानकर्ता राष्ट्रिय बिभूति महागुरुको तस्वीरलाई अनाधिकृत तवरले आफ्नो ब्यानरमा राखेर दुरुपयोग गर्दै आएको उल्लेख छ ।
धर्म निरपेक्षताको संबैधानिक ब्यबस्था स्थापित गर्न किरात धर्मका अनुनायीहरुको समेत उतिकै योगदान रहेको स्मरण गर्दे संघले त्यस विरुद्धको गतिविधिमा किरात धर्मावलम्बीहरुको साथ र सहयोग नरहने स्पष्ट पारेको छ ।
राप्रपाले केहिदिन अघि झापामा गरेको हिन्दु राष्ट्र कायम गर्न माग राख्दै निकालेको शक्ति प्रर्दशनमा महागुरुको तस्वीर समेत राखेको पाईएपछि संघले सार्वजनिक रुपमा आपत्ति जनाएको हो ।
विज्ञप्तिमा भनिएको छ ,–‘केही दिनदेखि भईरहेको तथाकथित आन्दोलनको हामी किरात धर्मावलम्बीहरुको तर्फबाट घोर भत्सर्ना गर्दछौं ।’
हिन्दु धर्मका ब्यानरमा महागुरु फाल्गुनन्दको तस्वीर नहटाएको खण्डमा कानुनी प्रक्रियामा अघि बढ्न बाँध्य हुनुपर्ने समेत संघद्धारा जारी विज्ञप्तिमा जनाईएको छ ।

Facebook Comments Box