विष्णु पौडेल
दमक/ लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान चौतर्फी सञ्चालन भइरहेको समयमा झापामा श्रृखंलाबद्ध रुपमा महिला तथा बालिकामाथि जघन्य अपराधका घटनाहरु सार्वजनिक भएका छन । २५ नोभेम्बरदेखि १० डिसेम्बर सम्म सञ्चालित अभियानका बाबजुद झापामा जवरजस्तीकरणी र हत्या सम्मका घटनाहरु भएका हुन ।
गत सोमबार राती गौरीगञ्ज २ लालमाटीमा सिमान्तकृत सन्थाल समुदायकी १२ बर्षिया एक बालिकामाथि सशस्त्र प्रहरीका सहायक निरिक्षक ( असइ) घर भित्रै जाइ लागे । घरमा ति बालिकामात्रै भएको मौका छोपेर सशस्त्र प्रहरीका असइ सूर्य कटवाल रक्सीले मातेको सुरमा बालिकामाथि जवरजस्तीकरणीको प्रयास गर्दै भित्र पसेका थिए ।
उनलाई बालिकाकी आमाले छिमेकबाट आउने वित्तिकै देखेर कपडामा समातेर बाहिर तानेपछि त्यहाँँबाट फरार भएका थिए । उनीमाथि विभागले आन्तरिक कारवाहीको प्रकृया शुरु गरेको छ जनाएको छ भने पीडित बालिकाका अभिभावकले इलाका प्रहरी कार्यालय गौरीगञ्जमा बुधबार मात्रै किटानी जाहेरी दिएका छन । सोही दिन दमकमा अर्को उस्तै प्रकृतिको जघन्य अपराधको घटना सार्वजनिक भयो । स्थानीय एक निजी विद्यालयमा पढाउने एक शिक्षकले ७ कक्षामा अध्ययनरत एक बालिकामाथि बलात्कार गरी केही समय अघिनै गर्भ बोकाएर फरार भएको घटना पनि मंगलबारनै सार्वजनिक भयो । यि दुई घटनाका खबर बाहिर आइरहँदा बिहिबार ( आज) जिल्लाको पूर्वी क्षेत्र मेचीनगर १३ चारआलीस्थित पाउँपाथिभरा मन्दिर नजिकै बलात्कार पछि हत्या गरिएको अवस्थामा एक बृद्धाको शव फेला परेको घटना सार्वजनिक भएको छ । पूर्व पश्चिम राजमार्गको कल्भर्टमुनि
अर्जुनधारा–११ की ७० वर्षीया माइना हस्दाको बलात्कारपछि हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार सो घटनामा संलग्न भद्रपुर ४ का ३५ बर्षिय विशाल विर्जाले आफैं अपराधपछि प्रहरीमा खबर गरेका हुन । विर्जा आफैंले वृद्धाको शव भेटिएको खबर प्रहरीलाई दिएका थिए । बिर्जाले बुधबार राति वृद्धाको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको प्रारम्भिक बयान दिएको जनाउँदै जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले सो घटनाबारे थप सुक्ष्म अनुसन्धान सुरू गरिएको जनाएका छन ।
पीडितहरु विपन्न र सिमान्तकृत समुदायका
यस किसिमका जघन्य अपराधका घटनाबाट अझै पनि आर्थिक रुपमा विपन्न तथा सिमान्तकृत समुदायका महिला तथा बालिकाहरु पीडित हुने गरेको पनि पाइन्छ । पछिल्लो समय भएका अपराधमा सन्थाल समुदायका बालिकादेखि बृद्धा सम्म पीडित भएका छन । निम्न तथा सिमान्तकृत वर्गका भएकै कारण पीडित पक्षलाई आर्थिक प्रलोभन देखाएर कानुनी उपचारको बाटोमा जान रोक्न खोजेको पनि पाइएको छ । लालमाटीकी पीडित सन्थाल बालिकाका बुबाले भने – हामी निवेदन दिन थानामा जान खोज्दा सादा पोसाकका पुलिसले नै बाटोमै रोकेर खर्च कति के हुन्छ मिलाएर लिनु , लफडा नगर्नु भन्दै रोकेका थिए । गौरीगञ्ज २ का ति पीडित बालिकाका अभिभावक उनले भोली पल्ट ( बुधबार) सञ्चार र समुदायका अन्य महिलाहरुको सहयोगमा बुधबार प्रहरीमा पीडित कटुवाल विरुद्ध जाहेरी दर्ता गराएको बताए ।

Facebook Comments Box