झापा बिर्तामोड नगरपालिका-३ का अर्जुनकुमार पाठकको परिवारमा चिन्ता छ- तीन दशकदेखिको थातथलोबाट विस्थापित हुनु पर्ने हो कि?
भूमाफिया गिरोहले पाठकको घरसमेत रहेको जग्गा खाली गर्न पटक-पटक धम्की दिन थालेपछि पाठक परिवार चिन्तित छ।
‘केही दिन अघि चार-पाँच जनाको समूहले ‘फर्जी’ धनीपुर्जा देखाउँदै जग्गा खाली गरिदिन धम्की दियो,’ पाठकले भने, ‘घर बनाएर बसेको जग्गाको धनीपुर्जा पनि अर्को व्यक्तिसँग?’
आफूले २०३९ र २०४५ मा दुईपटक गरी ४६१ र ४६८ कित्ता नम्बरको आठ कठ्ठा जग्गा काँदु चौधरीसँग किनेकाे अर्जुनका बुवा तुलसीरामले बताए। उनले केही जग्गा छोरा अर्जुन, टंकलाई अंश दिएका छन् भने बाँकी आफूसँग राखेका छन्।
जग्गाको कित्ताकाट हुँदा कित्ता नम्बर पनि फरकफरक भएका छन्। भूमाफियाले साविक अनारमनी ६ र ७ को सोही जग्गालाई कित्ता नम्बर १८५ र ५७७ कायम गरी हडप्ने षड्यन्त्र गरिरहेका हुन्।
भूमाफियाले दमक नगरपालिका स्थायी ठेगाना भएका घनेन्द्रदेवी थापा र सरस्वता ढकालको नाममा जग्गा धनीपुर्जा भएको प्रमाण देखाएर आफूहरुको जग्गा हडप्न खोजेको तुलसीरामले बताए।
विजय सिटौला, दीपक फुँयाल, राजु बस्नेत लगायतले जग्गा खाली गर्न धम्की दिएको अर्जुनले बताए।
‘जग्गाको धनीपुर्जा हामीसित छ, हाम्रो जग्गा हामीले किन खोज्न नपाउने? धनीपुर्जा देखाउँदै आएकामध्ये विजय सिटौलाले आफूहरूलाई धम्क्याउँदै भनेको स्मरण गर्दै अर्जुनले भने, ‘हाम्रो जग्गा खाली नगरे राम्रो हुँदैन, हाम्रो जग्गा खोज्न हामीलाई कसले रोक्न सक्छ’ भनेर गएका छन्।
जग्गा खाली गरिदिन धम्की दिँदै आएका मध्येका विजयले आफूहरूलाई नैनाकला थापाले २० लाख रुपैयाँ दिएर जग्गा सखार गरेको बताएको अर्जुनको भनाइ छ। तर, नैनाकला को हुन् भनेर पाठक परिवारलाई थाहा छैन।
भूमाफियाको सो गिरोहले पाठक परिवारको मात्रै नभइ स्थानीय रमाकान्त देवको जग्गासमेत हडप्ने कोसिस गरिरहेको छ।
भूमाफियाको गिरोह पटकपटक आफ्नो घर क्षेत्रमा आउने गरेको सुनाएका देवले सो जग्गा आफूले प्रकाश अग्रवालबाट किनेको बताए।
अढाई कठ्ठा जग्गामध्ये १५ धुरमा देवले चारतले पक्की घर बनाएका छन्। सो जग्गा ४१ सालतिर अग्रवालले नरेश खरेलबाट खरिद गरेको बताइन्छ।
उनीहरूलाई देखाइएको धनीपुर्जाका जग्गा धनी भनिएका दुईजनामध्ये घनेन्द्रदेवी थापा नक्सा नै परिवर्तन गरिएको बिर्तामोड १ को बहुबिवादित जग्गामा पनि जोडिएको नाम हो।
थापाकै नाममा रहेको ६२२ कित्ता नम्बरको सात कठ्ठा जग्गाको नक्सामा कित्ता नम्बर ५४७ बनाएर करोडौं मूल्यको जग्गा हडप्न खोजिएको घटना अझै समाधान भएको छैन। तिनै व्यक्तिको नाम यहाँ पनि जोडिनुले झापा भूमाफियाको गिरोह सक्रिय रहेको पीडितहरु बताउँछन्।
भूमाफियाले जग्गा खाली गर्न धम्की दिएपछि वडा कार्यलयमा अर्जुन र रमाकान्तले निवेदन दिएका छन्।
बिर्तामोड ३ का वडाध्यक्ष भोजराज सिटौलाले निवेदन आएको र न्यायिक समितिले त्यसको अध्ययन गरिरहेको बताए। एक-दुई दिनमै उनीहरूलाई बोलाएर छलफल गर्ने तयारी भएको वडाध्यक्ष सिटौलाले जानकारी दिए।
झापामा सरकारी कर्मचारीका कारण भुमाफियाले चलखेल गरिरहेको स्थानीय रुद्र सिटौलाको दाबी छ। गैरसरकारी संस्था महासंघ झापाका पूर्वअध्यक्ष समेत रहेका सिटौलाले नापी र मालपोतका भ्रष्ट कर्मचारीका कारण झापामा बिकराल अवस्था सिर्जना भएको आरोप लगाए।
‘भूमाफिया र दलालसँग मिलेर मालपोत र नापीका कर्मचारीले बिचौलियाको काम गर्छन्, गरिरहेका छन्,’ सिटौलाले भने, ‘मालपोत र नापीका कर्मचारीको नियत नै खराब छ,सम्बन्धित निकायले उनीहरूलाई कारबाही नगरेसम्म यो समस्या सुल्झिँदैन।’ आयो मेल कटकमबाट