दमक/झापाको शिवसताक्षीमा नेपा ली कांग्रेसले बनाइदिने एक जना बिपन्न महिलाको घर निर्माणका लागि शिलान्यास गरिएको छ ।
शिवसताक्षी नगरपालिका वडा नम्बर ११ मा स्थानीय घरबारबिहिन बिपन्न महिला भिमा कुमारी चौधरी राईको घर निर्माणका लागि हिजो (सोमबार) शिलान्यास गरिएको हो ।

शिलान्यास कार्यक्रममा कंग्रेस केन्द्रिय सदस्य तथा पुर्व मन्त्री केशब कुमार बुढाथोकीले कम्युनिष्टहरुको असली चरित्र बारे जनताले थाहा पाइसकेको हुँदा जनताको रोजाईमा अब पर्नै नसक्ने दाबी गरे । नागरिकहरु कोरोना संक्रमणका कारण आक्सिजन समेत नपाएर मरिरहेका बेला सत्तारुढ नेकपा भने कुर्र्सीको खेलमा लागेको उनले आरोप लगाए ।
कार्यक्रममा कांग्रेस झापा सभापति उद्धव थापाले पनि कम्युनिष्ट सत्तामा हुँदा यो वा त्यो हुन्छ भनेर देखाएको आश्वासन गलत सावित भएको बताए ।
शिवसताक्षि ११ दुधेमा नेपाली कांग्रेस सिवसताक्षी नगर समितिको अगुवाईमा स्थानिय बिपन्न महिला भिमाकुमारी चौधरी राईको घर निर्माण सुरु गरिएको निर्माण समितिका संयोजक तथा कांग्रेस नगर उपसभापति बिनोद ढकालले जानकारी दिए ।
ढकालले एकल महिला र स्वास्थ्यमा समेत समस्या भएको र आफनो जमिन समेत नभएकोले १० धुर जग्गा खरिद गरी चार कोठे पक्कि घर निर्माण गर्नको लागि काम थालिएको बताए । शिलान्यास गरिएको घर आगामी फागुन ७ गते प्रजातन्त्र दिवसको दिन हस्तान्तरण गर्ने योजना रहेको उनले बताए ।