दमक/ कोरोना संक्रमण फैलिएसंगै बन्द गरिएका झापाको दमक नगरमा सञ्चालित बिद्यालयहरु ८ महिना पछि पुनः सञ्चालनमा आउन थालेका छन ।
विद्यालयमा अवरुद्ध पठनपाठन पुनः सञ्चालनका लागि संघीय सरकारले सम्बन्धित पालिकाहरुलाई नै निर्णय गर्ने अधिकार प्रदान गरेपछि क्रमश केही दिनयता यहाँका निजी बिद्यालयहरुले पठनपाठन शुरु गर्न थालेका हुन । पठनपाठन सूचारु गर्न चाहने बिद्यालयका लागि संघीय सरकारले तोकेका मापदण्डहरु पूरा गरेपछि सम्बन्धित वडा कार्यालयको सिफारिसमा दमक नगरपालिकाको शिक्षा शाखाले सञ्चालनको अनुमति दिने गरेको दमक ५ का वडाध्यक्ष इन्द्र गुरुङले जानकारी दिए । सो वडाका बिद्यालयहरु अधिकांशको अवस्था हेरेर वडाले सिफारिस दिएको धमाधम खुल्न थालेका उनले बताए ।

दमक ५ स्थित मेची सेकेण्ड्री बोर्डिङ स्कूललका प्रिन्सिपल श्रवणकुमार पोखरेलले संघीय सरकारद्धार बिद्यालयका लागि तोकिएका मापदण्डहरु पूरा गर्न केही समय लागेकाले आज सोमबारदेखि बिद्यालयमै पठनपाठन शुरु गरिएको बताए । मापदण्ड अनुसार कक्षा सञ्चालन गर्नैका लागि बिहान र दिउँसो दुई सिफ्टमा पठनपाठन सञ्चालन गर्नुपरेको उनले बताए । आफनो विद्यालय कक्षा ४ सम्म बिहान पहिलो सिफ्टमा र कक्षा ५ देखि माथि दिउँसो दोश्रो सिफटमा पठनपाठन चलाइने प्रिन्सिपल पोखरेलले जानकारी दिए ।
सरकारले बिद्यालय परिसरमा नियमित रुपमा सेनिटाइज गर्नुपर्ने, बिद्यार्थी ओसार्न प्रयोग गरिने स्कूल बसहरु र कक्षाकोठामा मापदण्ड अनुसार भौतिक दुरी कायम गर्ने व्यवस्था हुनुपर्ने, ठाउँ ठाउँमा हात धुने व्यवस्था मिलाउनु पर्ने लगायतका मापदण्डहरु तोकिएको छ ।
सरकारद्धारा जारी गरिएका स्वास्थ्य सुरक्षाका मापदण्डहरु पूरा गरे/नगरेको सम्बन्धित वडाबाट स्थलगत अनुगमन गर्ने र आवश्यक मापदण्डहरु पूरा गरेको विद्यालयलाई पठनपाठन सूचारु गर्न अनुमतिका लागि वडा कार्यलयले सिफारिस गर्ने व्यवस्था गरिएको दमक ३ का वडाध्यक्ष नबिन बरालले बताए । सो वडाबाट अहिले सम्म दुई वटा बिद्यालयले अनुमतिका लागि सिफारिस लगेको उनले बताए । दमक ३ मा सामुदायिक र निजी गरि करिब एक दर्जन विद्यालय सञ्चालनमा रहेका छन । ति मध्ये तीन वटा सामुदायिक छन । अहिले सम्म बोर्डिङ स्कूलहरुले मात्रै सञ्चालनका लागि सिफारिस लिएका बताइएको छ ।

Facebook Comments Box