दमक/जनता समाजवादी पार्टी प्रदेश १ का मनोनित सदस्यहरु र विभिन्न निकायका प्रमुखहरुलाई आइतबार सपथ गराइएको छ ।
प्रदेश पार्टीको कार्यकारिणी बैठकमा उनीहरुलाई सपथ गराइएको सो पार्टीले जनाएको छ ।

पार्टीका १ नम्बर प्रदेश अध्यक्ष प्रवीण चाम्लिङका अनुसार इटहरीस्थित पार्टीको प्रदेश १ समितिको कार्यालयमा आयोजित सपथ ग्रहण समारोहमा प्रदेश नम्बर १ को नामाकंन “किरात– लिम्बुवान मधेस शेर्पालुङ प्रदेश“ राख्नुपर्ने पार्टीको आधिकारिक धारणा रहेको बताए । त्यस्तै पार्टीका केन्द्रीय सदस्य दिपक मेन्याङ्बोले पहिचान र सङ्घीयता पक्षधरहरुको बृहत् ध्रुवीकरणको उपज नै जनता समाजवादी पार्टीको निर्माण भएको जिकिर गरे । मनोनित सदस्यहरुको तर्फबाट राम मान्डुपा राईले बोलेका थिए ।
प्रदेश समितिको तर्फबाट उपाध्यक्ष दिपक याक्खाले मनोनित सदस्यहरुलाई शुभकामना दिएका थिए भने अर्का उपाध्यक्ष उमेश थापाले स्वागत गरेका थिए ।
गत असोज २३–२४ गतेको प्रदेश कार्यकारिणी समिति बैठकले मनोनित गरेका ५ जना प्रदेश निकाय प्रमुख, १७ जना प्रदेश सदस्यलाई सपथ गराइएको हो ।
आइतबार प्रदेश विज्ञ परिषद प्रमुख विष्णु लावती, लेखा परीक्षण आयोग प्रमुख हरि न्यौपाने, प्रदेश सदस्यहरु केशरमान गुरुङ, राम मान्डुपा राई, सुशील राई, कृष्ण लिम्बू, नन्द याम्फू, मनोज यदव, जहरमान लिम्बू, प्रज्वल भण्डारी, सीताराम राईले सपथ लिएका थिए ।
सपथ लिन छुटेका निकाय प्रमुख र सदस्यहरुलाई आगामी बैठकमा सपथ गराइने पार्टी स्रोतले जनाएको छ ।

Facebook Comments Box