दमक/दमक –४ स्थित लक्ष्मी बेराङ सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको २३ औं बार्षिक चुनावी साधारण सभा आज ( आइतबार) शुरु भएको छ । चियादोकनस्थित सहकारीको कार्यालय परिसरमा आज उदघाटन गरिएको सभाका अवसरमा वक्ताहरुले संस्थाका सदस्यहरुको कारोबार संस्था केन्द्रित हुनुपर्नेमा जोड दिए ।

कोरोना महामारीका कारण भौतिक दुरीसहित स्वास्थ्य सुरक्षाका मापदण्ड अनुरुप आयोजना गरिएको सभाको उदघाटन राष्ट्रिय सहकारी महासंघ १ नम्बर प्रदेश सदस्य प्रेम कोइरालाले गरेका थिए ।
संस्थाका अध्यक्ष बुद्धिलाल धिमालको सभापतित्वमा भएको कार्यक्रममा विशिष्ट राष्ट्रिय सहकारी बैंक दमक शाखाकी प्रवन्धक मुना केसी, दमक नगरपालिका कार्यपालिका सदस्य खडग बहादुर धिमाल, नेपाल आदिवासी जनजाती महासंघकी केन्द्रिय सचिव शान्तीदेवी धिमाल, संस्थाका सल्लाहकारहरु मोहन धिमाल , कृष्ण धिमाल र परामर्श बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गिरिराज धिमालले शुभकामना मन्तव्य राखेका थिए । संस्थाका सचिव मणिराज धिमालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन उपाध्यक्ष नेत्रकुमारी धिमालले गरेकी थिइन । सभामा अध्यक्ष धिमालले उदघाटन सत्रको समापनसंगै नयाँ नेतृत्व चयनको प्रकृयाका लागि अध्यक्ष मण्डलको घोषणा समेत गरेका छन ।
यस्ता छन आगामी योजनाहरु
संस्थाका अध्यक्ष बुद्धिालाल धिमालले प्रस्तुत गरेको प्रतिवेदनमा पुराना सदस्यहरुलाई संस्थाप्रति आकर्षित र कर्जा मागलाई परिपूर्ति गर्न १००० शेयर पुँजी भएका सदस्यहरुलाई आउँदो असार मसान्त भित्र अनिवार्य कम्तीमा ५००० देखि १० हजार सम्म शेयर बृद्धि गर्ने प्रस्ताव गरिएका छ । २०७८ साल सम्ममा संस्थाको वासलात ११ करोड सम्म पुरयाउने, आवश्यकता अनुसार शाखा कार्यालय खोल्न पाउने, संस्थाको नाममा दुई वटा एम्बुलेन्स सञ्चालन गर्ने, संस्थाका नाममा जग्गा खरिद गर्ने लगायतका आगामी कार्ययोजनाहरु सहितको प्रस्ताव पनि पेश गरिएको छ । संस्थामा गत असार मसान्त सम्ममा संस्थाका सदस्यहरुको संख्या २ हजार ३८ पुगेको पनि प्रतिवेदनमा उल्लेख छ । संस्थाले गत आर्थिक बर्षमा करिब १२ लाख रुपैयाँ मुनाफा कमाउन सफल भएको पनि जनाइएको छ ।